काठमाडौं- जलक्षेत्रको पर्यटन र सहासिक खेलका बारेमा सरोकारवालाबीच अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। जुन ५ मा मनाइने विश्व वातावरण दिवसको सन्दर्भमा सो अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको हो।
नेपाल वाटर स्पोर्ट एन्ड पावरबोट एसोसिएसनको आयोजना तथा अन्य सरोकारवाला निकायको समन्वयमा नेपाल पर्यटन बोर्डको हलमा भएको उक्त कार्यक्रमका वक्ताले नेपालको पर्यटनमा जल पर्यटनको सम्भावना भएपनि राज्यले परम्परागत पर्यटन विस्तारमा मात्र ध्यान दिएको र वास्तविक संभावनाहरुको वारेमा खासै गम्भीर भएर चासो नदिएको बताएका छन्।
सांसद् भवानी खापुङले नेपालमा जल पर्यटनको क्षेत्रमा अथाह सम्भावना भएपनि त्यसको खोजी नभएको र यसका लागि सरोकारवाला सरकारी तथा गैरसरकारी निकायलाई सम्भावनाको खोजीका लागि पहल गर्न आग्रह गरे। उनले गम्भीर सम्भावनाको यो क्षेत्रलाई निकै चासोका साथ संसदीय समिति र अन्य क्षेत्रमा नीतिगत हिसाबले उठाउने प्रतिबद्धता व्यक्त गरे।
पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले सम्भावना भएका र साहसिक तथा पर्यटकीय खेलकुदको विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा यो क्षेत्रमा सहकार्य गर्न सकिने बताए।
त्यसैगरी, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका महासचिव विर्षबहादुर शाहीले नेपालको पर्यटन प्रवर्द्धनको लागि वन क्षेत्रको महत्वपूर्ण भूमिका रहेपनि पुराना ऐन, नियम, कानुन, वन, प्रकृति र पर्यटनको लागि सहयोगी नभएकाले त्यसको शंशोधन गरी वन क्षेत्रवाट पर्यटनको विस्तार गर्न आफूहरु तयार रहेको बताए।
सो अवसरमा पर्यटन क्षेत्रसँग सम्बन्धित एकेडेमी तथा अन्य विभिन्न व्यवसायीहरुले आआफ्ना धारणा राखेका थिए।
माउन्टेन स्पोर्ट एसोसिएसनका अध्यक्ष गोविन्द भट्टराई र पावर बोट एसोसिएसनका महासचिव सन्तोष न्यौपानेले नेपालमा जल क्षेत्रको अवस्था र सम्भावना वारेमा प्रस्तुति गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।