मिरपुर– वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलको कीर्तिमानी शतक प्रहार गरेपछि अाफ्नै प्रशंसा गरेका छन्।
गेलको शतकको मद्दतमा रंगपुर राइडर्सले बंगलादेश प्रिमियर लिग (बिपिएल) को उपाधि जितेको थियो।
ढाका डाइनामिटर विरुद्धको फाइनलमा गेलले नटआउट १ सय ४६ रन र ब्रेन्डन म्याकुलमले नटआउट ५१ रन बनाएपछि रंगपुरले १ विकेटको क्षतिमा २ सय ६ रनको योगफल तयार गरेको थियो। जवाफि ब्याटिङ गरेको ढाकाले ९ विकेट गुमाएर १ सय ४९ रन मात्र जोड्दा ५७ रनले पराजित भयो।
खेलमा गेलले १८ छक्का प्रहार गरेर कीर्तिमान बनाएका थिए। टी–२० खेलको एकै इनिङमा बढी छक्का प्रहार गर्ने कीर्तिमान बनाएका गेलले ६९ बल खेल्दा ५ चौका पनि प्रहार गरेका थिए।
यसअघिको कीर्तिमान पनि गेलकै नाममा थियो। उनले २०१३ मा आइपिएलमा १७ छक्का हानेर कीर्तिमान बनाएका थिए।
शतक प्रहार गरेपछि पत्रकारको प्रश्नमा उनले आफु महान ब्याट्सम्यान भएको प्रतिक्रिया दिएका छन्। 'म सर्वकालिन महान् ब्याट्सम्यान हुँ,' गेलले भने।
उनले बिपिएलमा पाँचौ तथा टी–२० मा २०औं शतक प्रहार गरेका हुन्। बिपिएलको फाइनलमा प्रहार गरेको शतकलाई गेलले उत्कृष्ट शतकको संज्ञा दिएका छन्।
उनले प्रहार गरेका शतक मध्ये १३ शतकमा स्ट्राइक रेट २ सय भन्दा माथि छ। २० शतक प्रहार गर्दा गेलले २ सय २७ छक्का प्रहार गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।