काठमाडौं– बाग्मती अञ्चलमा दर्ता भएका सबै ३ तथा ४ पांग्रे निजी तथा सरकारी सवारीसाधनले आगामी असारभित्रै इम्बोस्ड नम्बरप्लेट जडान गर्नुपर्ने भएको छ। इम्बोस्ड नम्बरप्लेट जडानलाई प्रभावकारी बनाउन यायायात व्यवस्था विभागले बिहीबार यस्तो निर्णय गरेको हो।
पहिलो चरणमा विभागले निजी र सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडान गर्न लागेको हो। विभागका प्रवक्ता डा टोकराज पाण्डेका अनुसार ३ नम्बर प्रदेशमा दर्ता भएका १२ लटसम्मका निजी गाडी (मोटरसाइकल बाहेक) र सरकारी तथा संस्थानका सबै सवारीले चैतभित्रै नम्बर प्लेट जडान गर्नुपर्नेछ। बाँकीलाई असार मसान्तभित्र इम्बोस्ड नम्बरप्लेट जडान गर्न समयसीमा दिइएको छ।
१३ लटदेखि माथिका बाग्मती अञ्चलमा निजी गाडीहरुलाई असार मसान्त २०७५ को समयसीमा तोकिएको छ। पहिलो चरणमा विभागले ३ नम्बर प्रदेशबाट मात्र इम्बोस्ड नम्बरप्लेट राख्न सुरु गरेको हो। १३ लटमाथिका सवारीधनीले तुरुन्त इम्बोस्ड नम्बर प्लेट लिन चाहेमा पनि उपलब्ध हुने विभागले जनाएको छ। मोटरसाइकलका लागि भने असारपछि मात्र जडान गर्न लागिएको छ।
३२ सय शुल्क, अनलाइन फाराम
निजी गाडी धनीले यसका लागि ३ हजार २ सय रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ। इम्बोस्ड नम्बरप्लेट जडानका लागि यातायात व्यवस्था विभागको वेबसाइटबाटै अनलाइन फाराम भर्न सकिने विभागका प्रवक्ता डा पाण्डेले बताए। नम्बरप्लेट तयार भएपछि एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा पैसा तिरेर नम्बरप्लेट जडान गरिने विभागले जनाएको छ। ‘फाराम भरेको १० दिनभित्रै नम्बर प्लेट तयार हुनेछ,’ प्रवक्ता पाण्डेले भने।
विवाद र विरोध
भदौ ५ गतेदेखि विभागले इम्बोस्ड नम्बरप्लेट राख्न सुरु गरेको थियो। देश संघीयतामा अघि बढेको बेला अञ्चलको आधारमा नम्बरप्लेट राखिएको आलोचना भएपछि विभागले स्थगित गरेको थियो। त्यसपछि विभागले प्रदेशको नाममा नम्बरप्लेट डिजाइन गराएको हो।
नम्बरप्लेटमा अंग्रेजी भाषा प्रयोग गरिएको र शुल्क धेरै भएको भन्दै विरोध हुँदै आएको छ। छिमेकी मुलुक भारतमा भन्दा नेपालमा नम्बरप्लेटको शुल्क करिब दोब्बर छ। डेकाटुर टाइगर नामक बंगलादेशको कम्पनीले इम्बोस्ड नम्बरप्लेट छपाइको ठेक्का पाएको हो। ५ वर्षसम्म सबै गाडीमा इम्बोस्ड नम्बरप्लेट छपाइ सक्ने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।