काठमाडौं– बिरामीलाई १३ प्रतिशत करको मार नपरोस् भनेर सरकारले ५ प्रतिशत स्वास्थ्य सेवा कर तोकेको छ। तर, राजधानीका ठूला अस्पतालहरुले अतिरिक्त शुल्क असुलेर बिरामीलाई थप मारमा पार्ने गरेको खुलेको छ।
साना करदातामध्ये उत्कृष्ट करदाताका रुपमा नेपाल सरकारले केही समयअघि मात्रै सम्मान गरेका डा उपेन्द्र देवकोटा सञ्चालक रहेको बाँसबारीस्थित न्युरो अस्पतालले ५ प्रतिशत स्वास्थ्य सेवा कर बाहेक सेवा शुल्क भनेर थप १० प्रतिशत असुलेको पाइएको छ।
आपूर्ति मन्त्रालय अन्तर्गत आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा गैरकानुनी रुपमा सेवा शुल्क भन्दै १० प्रतिशत अतिरिक्त शुल्क लिएको भेटिएको हो। यस्तै, अस्पतालले गर्ने बिलिङ पनि गैरकानुनी भेटिएको छ। कम्प्युटर बिलिङ गर्ने गरेको भए पनि त्यसको स्वीकृति समेत नभएको पाइएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए।
उनले भने, ‘एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा लिने बिरामीले थप १५ हजार रुपैयाँ तिर्नुपर्ने अवस्था सिर्जना गरिएको छ। कम्प्युटर बिलिङको स्वीकृति लिएको भेटिएन।’
उक्त अतिरिक्त सेवा शुल्क किन लिएको भनेर विभागले अस्पतालसँग स्पष्टीकरण मागेको छ। महानिर्देशक दाहालले अस्पतालले सेवा शुल्क लिनुको पुष्ट्याइँ र कम्प्युटर बिलिङको कागजातसहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको बताए।
बयोधाको पनि बदमासी

बल्खुस्थित बयोधा अस्पतालले पनि १३ प्रतिशत भ्याट लिएको र त्यसमा थप १० प्रतिशत नर्सिङ सर्भिस चार्ज लिएको भेटिएको छ। यो हिसाबले बिरामीले स्वास्थ्य सेवा कर ५ प्रतिशतसहित २३ प्रतिशत तिर्न बाध्य हुनुपरेको देखिएको छ।
यस्तै, सो अस्पतालले असहाय, गरिब तथा विपन्न वर्गका लागि १० प्रतिशत बेड पनि नछुट्याइएको विभागको अनुगमनमा पाइएको थियो।
यसरी बेड नछुट्याइनु र बढी शुल्क लिनुको कारण सोध्दै विभागले ३ दिनभित्र स्पष्टीकरण बुझाउन अस्पताललाई भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।