संयुक्त राष्ट्रसंघ- कोरियाली प्रायद्वीपको विषयमा उत्तर कोरिया वार्तामा बस्न तयार भए आफू मध्यस्थता गर्न तथा आवश्यक परे सघाउन तयार रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
पछिल्लो समयमा उत्तर कोरियासँग वार्ता गर्न संयुक्त राज्य अमेरिका तयार भएको समाचार आएको थियो। यस विषयमा उत्तर कोरियाको भने कुनै प्रतिक्रिया आएको छैन।
'यदि उत्तर कोरिया शान्ति वार्तामा आउँछ भने यसका लागि मध्यस्थता गर्न वा आवश्यक के कस्तो सहयोग गर्नुपर्छ त्यसका लागि पनि राष्ट्रसंघ तयार छ,' राष्ट्रसंघका एक उच्च अधिकारीले जानकारी दिए।
संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला हेर्ने प्रमुख एवम् राष्ट्रसंघका उपमहासचिव जेफ्री फेल्टमेनले उत्तर कोरियाली अधिकारीहरुले पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा युद्ध रोक्ने विषयमा गरिने आणविक विषयको वार्ताका लागि इच्छा देखाउन सक्ने अधिक सम्भावना रहेको बताएका छन्।
हालैमात्र उनले उत्तर कोरियाको भ्रमण गरेका थिए। भ्रमण क्रममा उत्तर कोरियाली अधिकारीले कोरियाली प्रायद्वीपका विषयमा वार्ता गर्न तयार रहेको अभिव्यक्ति दिएका उनले बताएका छन्। उत्तर कोरियाले सो कोरियाली प्रायद्वीपमा युद्ध रोक्न चाहेको धारणा आफूसँग राखेको उनको भनाइ छ।
फेल्टमेनले डिसेम्बर ५ देखि ८ सम्म उत्तर कोरियाको भ्रमण गरेका थिए। सो अवसरमा उत्तर कोरियाली विदेशमन्त्री रि योङ हो र अन्य उत्तर कोरियाली उच्च अधिकारीहरुसँग पनि उनले भेट गरेका थिए।
उत्तर कोरियासँग सिधा वार्ता गर्न अमेरिका तयार रहेको अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले बुधबार बताएका थिए। यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भने केही धारणा आएको छैन।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।