काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमामा बस्नेछ।
यसअघि बैसाख १८ मा नै तोकिएको बैठक आजका लागि सारिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका कारण आवश्यक गृहकार्य नपुगेकोले बैठक २ दिनपछिलाई सार्न अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमति बनेको थियो।
तर, जिल्ला इन्चार्ज, पोलिटब्युरो, जिम्मेवारी बाँडफाँट र विभागहरु गठन गर्ने विषयमा शीर्ष नेताहरुबीच छलफल नसकिएकोले सोमबार पनि बैठक बस्न सकेन।
सोमबार अध्यक्षद्वय ओली र प्रचण्डले यस सम्बन्धमा छलफल गरेका थिए। दुवै अध्यक्षले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छुट्टाछुट्टै भेट गरेका थिए। सो भेटपछि यी तीनै नेताको सामूहिक बैठकमा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापासमेत सहभागी भएका थिए।
सो छलफलले ७७ वटै जिल्लाका इन्चार्जमा सहमति जुटाएको छ। बालुवाटारमा भएको छलफलमा जिल्ला इन्चार्ज र सह इन्चार्ज टुंग्याउने सहमति भएको हो।
मंगलबार बस्ने सचिवालय बैठकले यो विषयलाई अनुमोदन गर्ने जनाइएको छ भने अन्य शीर्ष नेता तथा केन्द्रीय सदस्यहरुको कार्यविभाजनबारे पनि छलफल हुनेछ।
पार्टी अध्यक्ष ओली र प्रचण्डले बालुवाटारमा आइतबार र सोमबार लामा छलफलहरुमार्फत केन्द्रीय सदस्यहरुको कार्यविभाजनको गृहकार्य गरेका थिए। सोमबारको बैठकमा भने महासचिव विष्णु पौडेलले तयार पारेको कार्यविभाजनको खेस्रामा अध्यक्षद्वयले छलफल गरेका थिए।
आजको बैठकले त्यसैलाई अनुमोदन गर्नसक्ने सम्भावना रहेको एक नेताले बताए। शीर्ष नेताहरुले पहिले पोटिलब्युरो गठन गरेर मात्रै कार्यविभाजन तोक्ने तयारी गरेका थिए। पार्टी स्थापना दिवसको दिन बल्खुमा आयोजित कार्यक्रममा प्रचण्डले पोलिटब्युरो केही दिनमै टुंगिने बताएका थिए।
तर, पछिल्लो समय नेताहरु केन्द्रीय सदस्यको कार्यविभाजनतिर मोडिएका छन्। नेकपामा सांगठनिक एकीकरण अन्तिम चरणमा पुगे पनि केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोकिएको छैन। विभिन्न विभागहरु गठन नहुँदा नेताहरुले आफू बेरोजगार भएको प्रतिक्रिया दिने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।