नयाँ दिल्ली- भारतको राजधानी सहरमा झन्डै दश लाख महिलालाई सार्वजनिक यातायात सेवा निःशुल्क प्रदान गरिने भएको नयाँ दिल्लीको सरकारले सोमबार जानकारी गराएको छ।
नयाँ दिल्लीमा सन् २०१२ मा एउटा निजी बसमा विद्यालयबाट घर फर्किरहेका समय एक छात्रामाथि सामूहिक बलात्कारपछि हत्या गरिएसँगै यसलाई महिलाको सुरक्षाका दृष्टिकोणले असुरक्षित भएको महशुस गरिँदै आएको थियो। सन् २०१२ को उक्त घटनालाई लिएर भारतभर विरोध भएको थियो।
राज्य सरकारले ल्याएको उक्त योजनाअन्तर्गत आगामी २ देखि ३ महिनाभित्रमा करिब ८ लाख ५० हजार महिलालाई सेवा दिइनेछ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भने, 'राज्य सरकारले ल्याएको महिलालाई सार्वजनिक यातायातमा यात्रा गर्दा निःशुल्क सेवा प्रदान गर्न वार्षिक १ अर्ब १५ करोड रूपैँया खर्च लाग्नेछ।'
उनले थपे, 'सरकारले ल्याएको यो योजनाअन्तर्गत केही समयभित्र करिब १ लाख ५० हजार सार्वजनिक यातायातमा सिसिटिभी क्यामेरा जडान गरिने छ। जसका कारण ती यातायातका साधनमा यात्रा गर्दा उनीहरूले सुरक्षित महशुस गर्नेछन्।'
सरकारले यस कार्यक्रममा साना तथा पूराना गाडीलाई विस्थापित गरी ठूला तथा नयाँ गाडी भित्र्याउने र यसबाट दिल्लीको ट्राफिक प्रदुषणलाई पनि कटौति गर्न मद्दत पुग्ने अधिकारीहरूले विश्वास लिएका छन्।
संयुक्त राष्ट्रसंघको वातावरण मामिला हेर्ने एक संस्थाको अध्ययनअनुसार झन्डै दुई करोड व्यक्तिको बसोबास रहेको नयाँ दिल्लीलाई प्रदुषणका हिसाबले विश्वका केही समस्याग्रस्त सहरका रूपमा हेरिने गरिएको छ।
योजनाबारे सोमबार पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री केजरीवालले भने, 'नयाँ दिल्लीमा सार्वजनिक यातायात प्रणाली र सहरी क्षेत्रका सवारीसाधनले लिने भाडाका कारण कैयौँ दिल्लीवासी कठिन पैदल यात्रा गर्न बाध्य छन्। योजनाबाट उनीहरूले सुरक्षित तथा सहज यातायातको सुविधा लिन पाउनेछन्।'
नयाँ दिल्लीमा विशेष प्रभाव रहेको आम आदमी पार्टीले आफ्नो गिर्दो साखलाई उठाउँदै आगामी जनवरीमा हुने विश्वास गरिएको विधानसभा निर्वाचनमा मतदातालाई प्रभावित पार्न यो योजना ल्याएको केजरीवालका आलोचकहरूले आरोप लगाएका छन्।
सन् २०१५ को राज्यसभा निर्वाचनमा केजरीवालको दलले निःशुल्क खानेपानी, विद्युत शुल्कमा छुट, आकर्षक स्वास्थ्य उपचार सेवा तथा शिक्षामा सुधारको योजनाको घोषणा गर्दै भारी बहुमत ल्याउन सफल बनेको थियो। उसले सन् २०१२ को सामूहिक बलात्कार र हत्याको घटनापछि दिल्लीमा महिलाको सुरक्षालाई सुधार गर्ने प्रतिबद्धता गरेको थियो।
तर, अप्रिल र मे महिनामा भएको राष्ट्रिय (लोकसभा) निर्वाचनमा भने आम आदमी आफ्नो पूरानो साख बचाउन असफल भएको थियो। जबकी भारतीय राजनीतिमा अनुदारवादी मानिने प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा)ले भने दिल्लीलगायत भारतभर दोस्रो पटक पनि उल्लेखनीय जनमत ल्याउन सफल भयो।
विधानसभामा नयाँ दिल्लीमा भाजपाका अगाडि केजरीवालको आम आदमी पार्टीले कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने अपेक्षा धेरै भारतीय विश्लेषकहरूले गरेका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।