चुरु(भारत)- भारतको सुख्खा क्षेत्रमा पर्ने सहर चुरुको तापक्रम ५० डिग्री सेल्सीयस पुगेको छ।
पछिल्लो ३ दिनमा तापक्रम दोस्रो पटक यति धेरै बढेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। देशको राजस्थान प्रदेशमा पर्ने चुरुको तापक्रम ५०.३ डिग्री सेल्सियस पुगेको समाचारमा जनाइएको छ।
यसअघि गत शनिबार ५०.६ डिग्री सेल्सीयस पुगेको थियो। यो देशकै सबैभन्दा उच्च तापक्रमको नजिक पुगेको हो।
भारतमा सन् २०१६ को मे महिनामा सर्वाधिक तापक्रम ५१ डिग्री सेल्सियस मापन गरिएको अधिकारीहरुले जनाएका छन्। त्यतिबेला सर्वाधिक तापक्रम राजस्थानको फलोडी सहरमा मापन गरिएको हो।
अत्यधिक तापक्रमका कारण गत आइतबार राजस्थानकै सिकर जिल्लामा एक जना किसानको मृत्यु भएको आधिकारिक तथ्याङ्क छ। अरुको पनि मृत्यु भएको दाबी गरिएको छ।
भारतीय मौसम विभागले राजस्थान र मध्य प्रदेशमा धेरै दिनदेखि तापक्रम उच्च हुँदै आएको र यो अझै लगातार बढ्ने जनाएको छ। नजिकैका प्रदेशहरु नयाँ दिल्ली र उत्तर प्रदेशमा समेत उच्च तापक्रमको प्रभाव पर्ने देखिएको अधिकारीहरुको भनाइ छ। नयाँ दिल्लीमा सोमबार झन्डै ४० डिग्री सेल्सियस तापक्रम मापन भएको थियो।
'यो साच्चै अति उच्च तापक्रम हो, तर हामीले के गर्न सक्छौँ र? आफ्नो काम गरिरहनु पर्छ,' एक स्थानीय लक्ष्मी जगदीशले भने। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।