काठमाडौं- आइसिसी विश्वकप क्रिकेट प्रतियोगितामा आयोजक इंग्ल्यान्डलाई पाकिस्तानले पराजित गरेको छ। २ ब्याट्सम्यानले शतक बनाए पनि इंग्ल्यान्डमाथि पाकिस्तानले १४ रनको जित हात पारेको हो।
पहिलो खेलमा वेस्ट इन्डिजविरुद्ध लज्जास्पद हार बेहोरेको पाकिस्तानलाई जितले राहत मिलेको छ। यता पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको इंग्ल्यान्डका लागि भने २ खेलाडीको शतक काम लाग्न सकेन।
पाकिस्तानले दिएको ३४९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेटको क्षतिमा ३३४ रन बनायो। इंग्ल्यान्डका लागि जोए रुट र जोश बटलरले शतक प्रहार गरे। रुटले १०७ रन र बटलरले १०३ रन बनाए। रुटले १०४ बलमा १० चौका र १ छक्का तथा बटलरले ७६ बलमा ९ चौका र २ छक्का हिर्काए।
बलिङमा पाकिस्तानका वाहेब रियाजले ३ विकेट लिए। सादब खान र मोहमद अमिरले २-२ विकेट हात पारे।
त्यसअघि नटिङघममा टस जितेको घरेलु टिम इंग्ल्यान्डले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेटको क्षतिमा ३४८ रन जोड्यो।
पाकिस्तानका लागि मोहमद हफिजले सवैभन्दा बढी ८४ रन जोडे। उनले ६२ बलमा ८ चौका र २ छक्का हिर्काए। हफिज खेलको म्यान अफ दि म्याच भए। बाबर अजामले ६३ रनको योगदान दिए भने कप्तान सर्फराज अहमेदले ५५ बटुले। त्यसअघि ओपनरद्वय इमाम उल हकले ४४ रन र फखर जमानले ३६ रन बनाए।
मध्यक्रमका ब्याटम्स्यान असिफ अलीले ११ बलमा १४ रन, वाहाव रियाज ४ रन र सोएब मलिक ८ रन जोडेर आउट भए। हसन अली र शादब खान १०–१० रनमा अविजित रहे।
बलिङमा इंग्ल्यान्डका मोइन अली र क्रिस ओएक्सले ३-३ विकेट लिए। मार्क उडले २ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।