म्यानचेस्टर– इंग्लिस प्रिमयर लिग लिडर म्यानचेस्टर सिटीले बुधबार राति भएको खेलमा स्वान्सी सिटीलाई ४–० ले पराजित गर्दै अराजित यात्रा कायमै राखेको छ।
सिटीको जितमा डेभिड सिल्भाले २७ र ५२ मिनेटमा गरी २ गोल गरे। केभिन डे ब्रुइनले ३४ मिनेटमा गोल गर्दा सर्जियो अग्युरोले ८५ मिनेटमा चौथो गोल गरेका थिए।
स्वान्सीमाथि सानदार जित हात पारेसँगै सिटीले ५ वटा रेकर्ड बनाएको छ। सिटीले पछिल्ला १६ मध्ये १३ खेल जितेर आफ्नै रेकर्ड भंग गरेको हो। पछिल्ला १६ मध्ये सिटीले २ खेलमा बराबरी र एक खेलमा हार बेहोर्यो।
सिटीले पहिलो श्रेणीको लिगमा लगातार १५ खेल जितेर पनि रेकर्ड बनायो। एउटै सिजनमा लगातार १५ लिग खेल जित्ने सिटी पहिलो टिम हो। यसअघि आर्सनलले सन् २००२ को सिजनमा लगातार १४ खेल जितेर रेकर्ड बनाएको थियो।
सिटीले सिजन २०१७–१८ का सबै अवे ९ खेल जितेर पनि रेकर्ड बनाउन सफल भयो। यस्तै डेभिड सिल्भाले पनि सिटीका लागि सिजनमा १७ खेलमा ५ गोल र ८ एसिस्ट गरे। अघिल्लो सिजन सिल्भाले ३४ मध्ये ११ गोलमा मात्र योगदान गरेका थिए।
बुधबार भएका लिगका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले बर्नमाउथलाई १–०, इभर्टनले न्युकासललाई १–०, लेस्टर सिटीले साउथह्याम्टनलाई ४–१ र टोटह्यामले ब्रिङटनलाई २–० ले पराजित गरेका छन्। लिभरपुल र वेस्ट ब्रुमिच तथा आर्सनल र वेस्ट ह्यामले गोलरहित बराबरी खेलेर अंक बाँडेका छन्।
लिगमा म्यानचेस्टर सिटी १७ खेलबाट ४९ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ३८, तेस्रो स्थानको चेल्सीको ३५, चौथो स्थानको टोटनह्यामको ३१ र पाँचौ स्थानको लिभरपुलको पनि ३१ अंक नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।