भक्तपुर- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना पनि सकिएपछि अहिले प्रदेशको राजधानी कहाँ बनाउने भन्ने चर्चा चुलिएको छ।
प्रदेश राजधानी कहाँ बनाउन उपयुक्त हुन्छ भन्नेबारेमा अध्ययन हुँदै गर्दा अधिकांश जिल्लाका नेता तथा जिल्लावासीले आफ्नो जिल्लालाई प्रदेश राजधानी बनाउन चाहिरहेका छन्।
तेह्र जिल्ला रहेको प्रदेश ३ मा प्रतिनिधिसभामा ३३ सिट छ। सबैभन्दा ठूलो प्रादेशिक सांसद पनि यही प्रदेशमा छन्। प्रदेशसभामा ६६ क्षेत्र रहेकामा वाम गठबन्धनले ५७ स्थान जितेका छन्। नेकपा एमालेले ४२ र नेकपा माओवादी केन्द्रले १५ क्षेत्र जितेका हुन्। कांग्रेसले ७ र नेमकिपा र नयाँ शक्तिले एकएक क्षेत्र जितेका छन्। प्रदेश ३ मा ११० सदस्यीय संसद हुनेछ। समानुपातिकबाट ४४ सांसद चयन हुनेछन्। सरकार गठनका लागि ५६ सांसद चाहिन्छ।
यतिखेर ३ नं प्रदेशको राजधानी भक्तपुरलाई बनाउन उपयुक्त हुने भन्दै यहाँका सांसददेखि दलका नेतासम्मले माग गरेका छन्। प्रदेशको राजधानी तोक्न आवश्यक तयारी, पूर्वाधार र पर्याप्त जमिनको उपलब्धता मात्र हैन तत्कालै प्रदेशसभाको बैठक बस्नदेखि प्रादेशिक मन्त्रालय एवं मन्त्री आवास राख्न समेत सहज हुने ठाउँको खोजी सरकारले गरिरहेको अवस्थामा ३ नं प्रदेशको राजधानी भक्तपुर उपयुक्त हुने ठहरमा यहाँका नेताहरु पुगेका छन्।
केके छन् पूर्वाधार?
प्रदेशसभाको बैठक राख्न मध्यपुरथिमिको बोडेमा रहेको कृषि विकास बैंकको तालिम हल प्रयोग गर्न सकिन्छ। यहाँ दुई वटा सुविधा सम्पन्न हल रहेका छन् भने आवासीय सुविधासमेत छ।
त्यसैगरी, खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रका आवासीय कैयौं भवन धेरै वर्षदेखि खाली र प्रयोगविहीन अवस्थामा रहेका छन्। यहाँको हल र भवनलाई प्रदेशसभाको बैठक बस्नदेखि मन्त्रालय बनाउन र मन्त्री आवासका रुपमा प्रयोग ल्याउन सकिन्छ।
सानोठिमीमा रहेको शिक्षा मन्त्रालयको कैयौँ सुविधा सम्पन्न भवन रिक्त हुँदैछन्। संघीय संरचनाअनुसार स्थानीय निकायमा शिक्षाका शाखा बस्ने भएपछि यहाँका भवन रिक्त हुँदैछन्। यसलाई प्रयोगमा ल्याउन सकिने कतिपयको भनाइ छ। यहाँ रहेको शिक्षा विभागको अत्याधुनिक भवनमा बैठक हल, सभाकक्ष र अन्य थुप्रै कक्ष रहेकाले एउटै भवनमा आवश्यक पर्दा तीन वटासम्म मन्त्रालय राख्न सकिने गरी पूर्वाधार छ।
परीक्षा नियन्त्रण कार्यालय, पाठ्यक्रम विकास केन्द्र, शिक्षक सेवा आयोग, दूर शिक्षाको कार्यालयको भवन, अनौपचारिक शिक्षा केन्द्र लगायतका १५ भन्दा बढी सुविधा सम्पन्न भवन, क्वार्टरका साथै थप भवन बनाउन आवश्यक प्रशस्त जग्गा यहाँ रहेको छ। सानोठिमीको शिक्षा मन्त्रालयअन्तर्गतका कार्यालयको भवनलाई सातवटै मन्त्रालय र मन्त्री क्वार्टरसमेत बनाउन सकिने पूर्वाधार यहाँ रहेका छन्।
भक्तपुरलाई प्रदेशको राजधानी बनाउँदा यहाँ आवश्यक थप पूर्वाधारका लागि प्रशस्त सरकारी जग्गा रहेका छन्। भक्तपुर पूर्व–पश्चिम जाने नाकाका रुपमा समेत प्रयोग हुँदै आएकाले सबै जिल्लाका नागरिकका लागि भक्तपुर उपयुक्त हुने आम नागरिकको धारणा छ।
भर्खरै नवनिर्वाचित सांसद एवं एमालेका युवा नेता महेश बस्नेत भक्तपुरलाई ३ नं प्रदेशको राजधानी बनाउन लागिपरेका छन्। आफूले यो प्रस्ताव मुख्य सचिव, सहरी विकास मन्त्रालयका सचिव, क्षेत्रीय प्रशासकदेखि अन्य तहमा राखिसकेको उनले बताए।
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले पनि भक्तपुरलाई ३ नं प्रदेशको राजधानी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई एक ज्ञापनपत्र दिएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।