काठमाडौं क्षेत्र नम्बर १ का मतदाताले दलको इतिहास, कार्य सम्पादन, उम्मेदवारको पृष्ठभूमि हेरेर मलाई जिताए भन्ने लागेको छ। यसअघि दुई वटा संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट मैले नै अवसर पाएको थिएँ। अहिलेको नयाँ संविधान नेपाली कांग्रेसको नेतृत्वमा जारी भयो र त्यसलाई संस्थागत गर्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भयो।
यसअघि काठमाडौं १ बाट निर्वाचित भएर गएपछि प्राप्त गरेको जिम्मेवारी पूरा गरें भन्ने लाग्छ। संविधानसभाको निर्वाचन जित्दा संविधान लेखन र जारी गर्ने जुन दायित्व थियो, त्यो कांग्रेसकै नेतृत्वमा पूरा भयो।
वामपन्थी दलको तर्फबाट ४ पटक कम्युनिस्ट नेताहरू प्रधानमन्त्री बन्नुभयो तर उहाँहरूले संविधान लागू गर्न सक्नु भएन। तर, हाम्रो नेतृत्वमा दोस्रो पटक बनेको संविधानसभाले संविधान जारी गर्यो।
काठमाडौं क्षेत्र नम्बर १ को विकास, सामाजिक कार्यमा म सधैं मतदातासँग नियमित सम्पर्क र सम्बन्धमा रहें। त्यही कारणले पनि यहाँका मतदातले मलाई जिताएर पठाए भन्ने लाग्छ।
निर्वाचनका क्रममा यो क्षेत्रबाट उठेका उम्मेदवारबीच जुहारी पनि भयो। तर, त्यो हाम्रो पक्षबाट भएको थिएन। तर, यहाँ तिललाई पहाड बनाउने काम भयो। पत्र–पत्रिकाले पत्रकारिताको जगतबाट आएको मान्छेलाई भातृत्वको हिसाबमा सहयोग गनुपर्छ भनेर ‘हिरोफाइ’ र ‘ग्लोरिफाइ’ गर्न खोजियो।
‘ग्राउन्ड’मा भन्दा अखबारबाजी र सोसियल मिडियामा प्रचारबाजी बढी भयो। आखिर ‘ग्राउन्ड’मा के रहेछ? नतिजाले देखायो।
पत्रपत्रिका, छापा, टेलिभिजन, अनलाइन, सोसियल मिडियाका अनुसार त प्रकाशमान र कांग्रेस धेरै पछाडि जस्तो गरेर रिपोर्टिङ गरियो। आखिर चुनाव त भोटरहरुले दिने हो। त्यो देखियो पनि।
देशव्यापी रुपमा कांग्रेसको खराब नतिजाले नेतृत्वको कमजोरी देखिएको छ। कांग्रेसको १३आंै महाधिवेशनपछि पार्टीले जुन गति लिनुपथ्र्यो, त्यो भएन। महाधिवेशनपछि पार्टीको नेतृत्वमा आएका पदाधिकारीले जसरी कांग्रेसलाई चलाउनुपर्ने हो, त्यो देखिएन। संगठनको संरचना पूर्ति गर्दै संस्थागत विकास गरेर पार्टी अघि बढाउनुपर्ने थियो, त्यो पनि भएन।
पार्टीको नेतृत्व कमजोर भएको नतिजाले देखाइसकेको छ। राम्रो हुँदा जस चाहिँ नेताले लिने, नराम्रो हुँदा अपजस पनि नेताले नै लिनुपर्छ।
हाम्रोतिर फाइनल परीक्षामा विद्यार्थीको मूल्यांकन गरिन्छ। राजनीतिक दल र नेताको मूल्यांकन यस्तै चुनावमा हुने हो। त्यसमा फेल भएपछि अपग्रेट हुँदैन। पार्टी संस्थागत रुपमा अगाडि बढ्न नसकेकै हो। पार्टीको संरचनागत विकास र नेताहरूलाई जिम्मेवारी दिन सकिएन। विवादले गर्दा केन्द्रीय समिति, विभिन्न विभागमा पदाधिकारीको नियुक्ति हुन सकेन। सरकारको नेतृत्व गरिरहँदा जनहित विपरित काम गरेका कारण अहिलेको नतिजा बेहोर्नु परेको हो।
प्रजातान्त्रिक पार्टीभित्र प्रजातान्त्रिक अभ्यास गर्नुपर्छ। प्रजातान्त्रिक अभ्यास गर्दा दलको विधि विधान अनुसार काम गर्नुपर्छ। तर, विधानअनुसार काम भएनन्।
पार्टीको नेतृत्व परिवर्तन गर्ने सवालमा समयको मागअनुसार आवश्यकता ठहरिए, म नेतृत्वका लागि तयार छु। म राजनीतिमा त्यसै लागेको होइन। परिस्थितिले नेतृत्व गर्ने अवस्था आए पछाडि हट्ने कुरा आउँदैन।
सबैलाई थाह छ, पार्टीभित्र म निर्वाचित महामन्त्री भइसकेको मान्छे। उपसभापति बनिसकेको मान्छे। सरकारमा पटक–पटक मन्त्री भइसकेको छु। उप्रप्रधानमन्त्री भइसकेको मान्छे। कांग्रेसको संसदीय दलको उपनेता भइसकेको हुनाले नेतृत्व गर्ने मापदण्ड पुगिसकेको छ। पार्टीभित्र शेरबहादुर देउवापछि अनुभव, क्षमताका हिसावमा पनि उपयुक्त छु जस्तो लाग्छ। पार्टीको नेतृत्व मैले पाएको खण्डमा त्यो अस्वभाविक हुनेछैन।
हामीले निर्वाचनको ‘म्यान्डेट’ मान्नुपर्छ। प्रजातान्त्रिक अभ्यासमा गइसकेपछि नतिजालाई सहर्ष स्वीकार्नु पनि पर्छ। अहिलेको ‘म्यान्डेट’ भनेको नेपाली कांग्रेसलाई प्रतिपक्षमा बसेर काम गर्न जनताले भनेका छन्। त्यसमा हामीले जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्छ। कांग्रेस अब प्रतिपक्षमा बस्नैपर्छ। जनताले दिएको ‘म्यान्डेट’ मान्नुपर्छ, त्यो धैर्यता हामीले पटक–पटक देखाइसकेका छौं।
निर्वाचनका बेला हामीलाई धेरैले लोकतान्त्रिक गठबन्धन भन्थे। कतै, सबै मिलेर निर्वाचन लडेको देखियो। कतै आफैंबीच प्रतिस्पर्धा गरेको पनि देखियो। गठबन्धन भनेपछि सबैतिर एउटै नियम लागू हुनेपर्ने हो। तर, त्यो भएन। एकातिर कांग्रेसले समर्थन गर्ने, अर्कोतिर समर्थन गरेकै दलले कांग्रेस विरुद्ध उम्मेदवार उठाउने! यसैले हाम्रो गठबन्धनमा स्पष्टता देखिएन।
पार्टीलाई अब संस्थागत रुपमा अगाडि बढाउन पूर्वाधार खडा गर्नुपर्ने आवश्यकता देखियो। पार्टी संस्थागत रुपमा सञ्चालन गर्न आवश्यक छ। पार्टीको विधि र नियमअनुसार सञ्चालन गर्न सबै लाग्नुपर्छ भनेर मैले पटक–पटक भन्दै आइरहेको छु।
आफ्नो मान्छे हुल्न विधि प्रक्रिया केही होइन भन्ने परिपाटीले कांग्रेसलाई क्षति पुर्याएको छ। अहिलेको चुनावले पनि यही देखाइसकेको छ। हामीले विगतको कमजोरीलाई शिक्षाको रुपमा लिँदै सच्याउनु बाहेक अर्को उपाय छैन। अब कांग्रेसले पार्टीभित्र शुद्धीकरण अभियान थाल्नुपर्छ।
(नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंहसँग नवीन अर्यालले गरेको कुराकानी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।