काठमाडौं- वायुयानमा लाग्ने पार्टपुर्जाको आयातमा भन्सार बढाएको भन्दै वायुसेवा सञ्चालक कम्पनीहरुले जेठ २२ गते सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन्।
वायुसेवा सञ्चालक संघ नेपालले सरकारले वायुयानमा लाग्ने अधिकांश पार्टपुर्जाको भन्सार दस्तुर बढाएको भन्दै विरोध गरेका छन्। बजेटमार्फत सरकारले वायुयानको पार्टपुर्जामा ३० प्रतिशतसम्म भन्सार शुल्क पुर्याएको छ।
सरकारले एक्लौटी भन्सार बढाएको भन्दै वायुसेवा सञ्चालकहरुले जेठ २२ गते सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरका हुन्। संघले जेठ २२ गते बुधबार निजी विमान कम्पनीका सम्पूर्ण हवाई सेवा बन्द गर्ने चेतावनी दिएको छ।
विगतमा एक प्रतिशत मात्र भन्सार महसुल लाग्दै आएका वायुयान पार्टपुर्जामा जेठ १५ गतेदेखि नै भन्सार महसुल बढाएर ३० प्रतिशत लाग्ने व्यवस्था गरेको जनाउँदै सञ्चालहरु आन्दोलित भएका हुन्। नयाँ व्यवस्थासँगै वायुयानका पार्टपुर्जा छुटाउन नपाएको र हाल वायुसेवाहरुसँग जेठ २३ गतेसम्मलाई मात्र जगेडा पार्टपुर्जा रहेकाले पार्टपुर्जा अभावकै कारण बाध्य भएर हवाईसेवा बन्द हुने अवस्था आएको संघले विज्ञप्तिमा जनाएको छ।
बजेटमार्फत सरकारले इन्जिन, प्रोपेलर, रोटर ब्लेड, ह्विल ब्रेक, स्टेरिङ, ल्यान्डिङ गियर, विन्डसिल जस्ता सीमित पार्टपुर्जाहरुको मात्रै एक प्रतिशत भन्सार शुल्क र ‘अन्य पार्टपुर्जा’मा ३० प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था गरको संघको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।