काठमाडौं- 'आधुनिक सभ्यताको मानक नै सुविधायुक्त सहर भएको तथा मुलुकको विकासको स्वरुप सहरी पूर्वाधारबाटै प्रतिबिम्बित हुने यथार्थलाई ध्यान दिँदै सहरी विकासतर्फ कार्यक्रम प्रस्ताव गरेको छु', अर्थमन्त्री खतिवडाले गत जेठ १५ गते वाचन गरेको बजेटको बुँदा १ सय ९८ मा भनिएको थियो।
नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सो बुँदाको एउटा शब्द परिवर्तन गर्न आग्रह गरेका छन्। त्यति गरे आफूलाई पनि बजेट स्वीकार हुने उनले बताए।
'म सरकारलाई भन्न चाहन्छु- यस पंत्तिमा एउटा शब्द फेरिदिने हो भने यो बजेट मलाई पूर्णतया स्वीकार छ', उनले भने, 'आधुनिक सभ्यताको मानक सुविधायुक्त सहर हो त? काठमाडौंलाई सहरको सट्टा कहर बनाएर पनि चित्त बुझेन? यसलाई तपाईं ढाँटले लेख्न सक्नुहुन्छ– 'आधुनिक सभ्यताको मानक नै सुविधायुक्त गाउँ बनाएर। गाउँलाई सुविधायुक्त बनाउन सकिँदैन?'
उनले गाउँलाई सुविधायुक्त बनाउनु आजको चुनौती हो कि होइन भन्ने प्रश्न गरे।
'मेरो बिन्ती छ, प्रार्थना छ- सहरलाई गाउँ गरिदिनुस्', उनले भने, 'सारा बजेटको रुपरेखा र स्वरुप बदलिन्छ। आज गाउँबाट बजार, बजारबाट झन् ठूलो बजार, त्यसबाट सहर, त्यसपछि फोहोर काठमाडौं। त्यसपछि विदेश। अमेरिका। यही हो नेपालको नियती? यही गर्न हामीले चालीस पचास वर्ष अगाडि देश बनाउने कसम खाएको थियो?'
गिरिले सुविधायुक्त गाउँ बनाउनुपर्ने बताए। 'सहरलाई कति चाहियो', उनले भने, 'गाडी पुगेन कि। कलेज पुगेन कि। अस्पताल पुगेन कि। काठमाडौंकै जोड्नुस् त प्रतिव्यक्ति कति छ?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।