काठमाडौँ – संघीय संरचनाअनुसार प्रदेशसभा सञ्चालन गर्नेस्थलको अध्ययन सूक्ष्म रुपमा भइरहेको शहरी विकास मन्त्रालयले जनाएको छ।
पूर्वाधारका आधारमा प्रदेश नं १ को धनकुटा, धरान, इटहरी वा विराटनगर, प्रदेश नं २ को जनकपुर वा वीरगन्ज, प्रदेश नं ३ को मकवानपुर, धादिङ वा ललितपुर, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को भैरहवा, बुटवल वा दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को कञ्चनपुरमा अस्थायी राजधानी तोकेर प्रदेशसभा सञ्चालन गर्ने स्थल, प्रदेश प्रमुख, प्रदेशसभाका सभामुख र मुख्यमन्त्रीको कार्यालय लगायतस्थल तोक्ने तयारी भएको मन्त्रालयले जनाएको छ।
प्रदेशसभा सदस्य संख्याका आधारमा प्रदेशसभा सञ्चालन गर्न पुग्ने गरी सरकारी भवनको अध्ययन भइरहेको मन्त्रालयका प्रवक्ता शम्भु केसीले बताए।
“सभा भवनलगायत संरचना अध्ययनका लागि क्षेत्रीय प्रशासकको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र जुन कार्यालय खाली गर्न खोजिएको हो त्यसका प्रमुख रहेको समिति गठन गरेर अध्ययन भइरहेको छ”– उनले भने।
केन्द्रीयस्तरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बराल, अर्का सचिव प्रेमकुमार राई र मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माको नेतृत्वमा संरचना छनोटको काम भइरहेको छ।
प्रदेशसभाको बैठकले प्रदेशको स्थायी राजधानीलगायत संरचनाका बारेमा निर्णय गर्ने भए पनि संविधानअनुसार पहिलो बैठक सञ्चालनका लागि अस्थायी संरचना तोक्ने तयारी गरिएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।