काठमाडौं– गण्डकी प्रदेशका ओपनर अनिङ गुरुङले प्रधानमन्त्री कपमा शतक प्रहार गरेका छन्। सोमबार समूह 'ए' को खेलमा गुरुङले प्रदेश ५ विरुद्ध शतकीय पारी खेलेका हुन्। उनले ११५ रनको योगदान दिए। १ सय ५२ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे।
लगातार तेस्रो पटक प्रधानमन्त्री कप खेलिरहेका उनले पहिलो पटक ५० रन कटाएका हुन्। यसअघि प्रधानमन्त्री कपमा १० खेल खेल्दा उनको उच्च स्कोर ४२ रन थियो। जारी प्रतियोगिताम उनले त्रिभुवन आर्मीविरुद्ध नटआउट ४२ रन बनाएका थिए।
कीर्तिपुर मैदानमा उनी प्रदेश ५ का अनिल खरेलको बलमा आउट भएका थिए। गुरुङको शतकसँगै गण्डकीले ४९.२ ओभरमा सबै विकेट गुमाउदा २३४ रन जोड्यो।
जारी प्रतियोगितामा यो तेस्रो शतक हो। यसअघि प्रदेश ३ का ज्ञानेन्द्र मल्लले एपिएफविरुद्ध ११७ रन जोडेका थिए। उनले १११ बलमा ८ चौका र ६ छक्का प्रहार गरेका थिए। त्यस्तै नेपाल पुलिस क्लबका अमित श्रेष्ठले प्रतियोगिताको दोस्रो शतक हिर्काएका थिए। उनले प्रदेश १ विरुद्ध १०६ रन जोडेका थिए। उनले ११८ बलमा १५ चौका र १ छक्का हिर्काएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।