काठमाडौं– राजपा नेता राजकिशोर यादवले सरकारको भविष्यदेखि प्रधानमन्त्री र अर्थमन्त्रीसम्म दलालहरुले बनाउने गरेको आरोप लगाएका छन्।
सरकारले जनताका लागि पुँजी प्रवाह गर्दा दलालले लाभ लिँदै आएको र त्यो वर्ग बलियो बनेको उनले तर्क गरे। संसदमा बोल्दै उनले भने, ‘पुँजी प्रवाह गर्दा एउटा दलाल वर्ग निर्माण भएको छ। को अर्थमन्त्री बन्छ? सरकारको आयु कति हुन्छ? को प्रधानमन्त्री बन्छ? भन्ने त्यो वर्गले निर्धारण गर्छ।’
अर्को ‘गाउँको भगुवा’ वर्ग रहेको र उसले नेताप्रति घृणा पैदा गर्ने काम गरिरहेको उनको आरोप छ। गाउँबाट भागेर काठमाडौं वा विदेश बसेको उक्त जमातले सामाजिक सञ्जालमा आफूहरुलाई ‘अपराधी’ करार गर्न खोजिरहेको बताउँदै त्यसविरुद्ध पनि लड्नुपर्ने उनले बताए। त्यो नेपाली समाजको चरित्र र मनोविज्ञानको छायाँ रहेको बताउँदै त्यस विषयमा बोल्नुपर्ने उनको भनाइ थियो।
उनले भने, ‘गाउँबाट भागेर काठमाडौंमा बसेको एउटा जमात छ। जो आफूलाई विद्वान् भन्छ। केही नेपालनै छाडेर बाहिर बसेका छन्। उनीहरु दिनहुँ राजनीतिक ज्ञान बाँडिरहेका हुन्छन्। हामीलाई क्रिमिनल भनिरहेका हुन्छन्। किनभने हामीले नेपाली समाजको चरित्र र मनोविज्ञानका बारेमा बोल्न सकेनौं।’
वर्तमान दुई तिहाइ सरकारले दलाल र यस्ता मनोविज्ञान समाप्त पार्न नयाँ नीति लिनुपर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।