काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ३ महिनाभित्र आफूहरुको सम्पूर्ण माग सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ।
संघका अध्यक्ष रोहन गुरुङले आफूहरुको माग ३ महिनाभित्र पनि सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन्। संघले माग सम्बोधन गराउन सरकारलाई दबाब दिँदै गत जेठ १७ गतेबाट २३ गतेसम्म एक हप्ता वैदेशिक रोजगारीमा नेपालीहरुलाई जान प्रतिबन्ध लगाएको छ।
त्यसै कार्यक्रमअन्तर्गत सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका संघका अध्यक्ष गुरुङले ‘फ्री भिसा, फ्री टिकट’ लगायतका निर्णयमा पुनर्विचार नगरे आफ्नो पेसा, व्यवसाय नै छाडेर सरकारविरुद्ध कडा आन्दोलनमा जानुपर्ने अवस्था आउने स्पष्ट पारे।
उनले सरकारले धरौटी राखिएको आफ्ना पैसाको ब्याज नदिएको, मलेसियामा जान लगाइएको प्रतिबन्ध फुकुवा नगरेको तथा वैदेशिक रोजगार कम्पनीहरु 'मर्ज' गर्दा सुविधा दिनुपर्ने आफूहरुको माग बेवास्ता गरेपछि सरकारविरुद्ध आन्दोलनमा उत्रनु परेको पनि स्पष्ट पारे।
संघका अध्यक्ष गुरुङले वार्षिक ५ लाखभन्दा बढी नेपाली युवाहरुलाई वैदेशिक रोजगारीको व्यवस्था गरेपनि सरकारले आफूहरुको कामको सम्मान गर्न नसकेको भन्दै आक्रोश पनि व्यक्त गरे।
यता, नेपाल राष्ट्र बैंकले भने वैदेशिक रोजगारीमा जान रोकावट गर्ने नेपाल वैदेशिक रोजगार संघको निर्णयले नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको जनाएको छ। नेपाल राष्ट्र बैंकका निर्देशक नरबहादुर थापाले वार्षिक करिब ७ खर्ब ३३ अर्ब विप्रेषणको आप्रवाहलाई समेत संघको यो बन्दले प्रतिकूल असर पुर्याइरहेको बताए।
सरकारी तथ्यांकअनुसार नेपालमा हाल ४३ लाख नेपाली नागरिकहरु वैदेशिक रोजगारमा गएका छन्। उनीहरुले पठाएको विप्रेषणको रकमबाट मुलुक धानिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।