काठमाडौं- राष्ट्रिय जनता पार्टीले लोकसेवा आयोगले आव्हान गरेको विज्ञापनलाई संविधानसम्मत् बनाउन र गिरिसचन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राजपाका सांसद राजकिशोर यादवले संविधानको कार्यान्वयन गर्न/गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले संविधानमा गरिएको व्यवस्थाविपरीत आयोगले विज्ञापन आह्वान गरिएको भन्दै उनले 'सरकार कसले चलाएको छ?' भनि प्रश्न गरे।
उनले भने, 'यो राज्य कसरी चलेको छ? यो राज्य कसले चलाएको छ? वास्तवमा यो राज्य चलाउनेहरुले संविधानलाई मानेका छन् कि छैनन् भन्ने गम्भीर प्रकृतिको प्रश्न उठेको छ।'
यादवले लोकसेवा आयोगले आव्हान गरेको विज्ञापन संविधानको मर्म र भावनाविपरीत भएको टिप्पणी गरे।
संविधानविपरीत विज्ञापन आह्वान गर्नुले सरकारको कुनियत देखिएको उनको आरोप छ। 'जब यो संविधान सरकारले मान्दैन। जब यो संविधानअनुसार यो सदन परिचालन हुँदैन। जब यो संविधान संवैधानिक निकायमा बस्ने मान्छेले मान्दैन। व्यक्तिको उन्माद, उसको कुण्ठा र उसको चिन्तनबाट जब कार्य अगाडि बढाइन्छ समस्याहरु उब्जिन्छन्।,' यादवले भने।
सांसद यादवले राष्ट्रलाई दीर्घकालिन रुपमा नोक्सान पुर्याउने काम बन्द गर्न सरकारलाई सचेत गराए। उनले सदनको मर्यादा राख्दै गिरिसचन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे।
सभामुख कृष्णबहादुर महराले सोमबारको बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए। त्यसपछि सभामुख महराले सांसद यादवलाई बोल्नका लागि समय दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।