काठमाडौं– आर्थिक वर्ष २०७६/७७ को बजेटमा कांग्रेस नेता मीनेन्द्र रिजालले त्रुटि औंल्याएका छन्।
संसदमा बजेटमाथि छलफल गर्ने क्रममा सरकारले कर प्रणाली र प्रशासनिक सुधार गरेर ‘राजस्व घटाउने लक्ष्य’ लिएको भन्दै अर्थमन्त्री युवराज खतिवडाको उनले ध्यानाकर्षण गराए।
बजेटको बुँदा २९५ मा कर प्रणालीमा संरचनात्मक परिवर्तन गर्ने, करछली र चुहावट नियन्त्रण गर्ने र कर सहभागिता अभिवृद्धि गर्ने र थप राजस्व परिचालन गर्ने उल्लेख छ। यसरी कर परिवर्तन र प्रशासनिक सुधार गर्दा राजस्व बढ्नुपर्ने देखिन्छ। सरकारले कर परिवर्तन सुधारबाट ५५ अर्ब ५९ करोड थप आउने बजेटमा उल्लेख गरेको रिजालको भनाइ छ। यसरी हिसाब गर्दा वर्तमान स्रोतबाट ११ खर्ब ६७ अर्ब जम्मा हुने उनले बताए।
तर, सरकारले उक्त ५५ अर्ब जोड्नुको सट्टा घटाएर ११ खर्ब १२ अर्ब राखेको भन्दै रिजालले प्रश्न गरे, ‘कर प्रणाली र प्रशासनिक सुधार गर्दा राजस्व घट्ने हो कि थपिने हो?’
आफूले नयाँ परिवर्तन वा सुधारबाट थपिनुपर्ने ठानेको भन्दै उनले यस विषयमा गम्भीर छलफल गर्न पनि उनले माग गरे।
उनले यसलाई सामान्य त्रुटिका रुपमा नलिन आग्रह गर्दै यसबारे स्पष्ट भए मात्रै बजेट छलफल अघि बढ्ने जानकारी गराए। उनले भने, ‘बजेट अनुमान ठिक छैन भने किन छलफल गरिरहनुपर्यो। अँध्यारोमा छलफल गर्नुको कुनै औचित्य छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।