काठमाडौं- इंग्ल्यान्डमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतयोगितामा आइतबार दक्षिण एसियाली टिम बंगलादेशले दक्षिण अफ्रिकलाई २१ रनले हरायो। जारी विश्वकपमा दक्षिण अफ्रिकाको यो लगातार दोस्रो हार हो। बंगलादेशले भने विजयी सुरुवात गर्न सफल भयो। बंगलादेशले उत्कृष्ट प्रदर्शन गरेसँगै निम्न रेकर्ड बनाएको छ।
२ - विश्वकपमा बंगलादेशले दक्षिण अफ्रिकालाई हराएको यो दोस्रो पटक हो। यसअघि बंगलादेशले सन् २००७ मा पनि दक्षिण अफ्रिकाविरुद्ध जित हात पारेको थियो। विश्वकप बाहेक भने बंगलादेशविरुद्ध दक्षिण अफ्रिकाले १५ एकदिवसीय खेलमा जित हात पार्दा २ पटक मात्र हार बेहोरेको छ।
३३०- आइतबार दक्षिण अफ्रिकाविरुद्ध भएको ३३० रन बंगलादेशको एकदिवसीय खेलको उच्च रन हो। यसअघिको उच्च रन सन् २०१५ मा पाकिस्तानविरुद्ध बनाएको ३२९ रन थियो। यस्तै बंगलादेशले दोस्रो पटक विश्वकपमा ३ सय रन कटायो। यसअघि सन् २०१५ मा बंगलादेशले स्कटल्यान्डविरुद्ध ३२२ रन बनाएको थियो।
२७८- बंगलादेशको यसअघि दक्षिण अफ्रिकाविरुद्ध एकदिवसीय खेलको उच्च स्कोर २७८ रन थियो। आइतबार भने ३३० रन बनाएर बंगलादेशले ५२ रन बढी जोड्यो।
१४२- आइतबार सकिब अल हसन र मुस्फिकर रहिमबीच १४२ रनको साझेदारी भयो। यो साझेदारी बंगलादेशको विश्वकपको अहिलेसम्मकै ठूलो साझेदारी हो। यसअघि मोहमुदुल्लाह र मुस्फिकरबिच सन् २०१५ मा इंग्ल्यान्डविरुद्ध १४१ रनको साझेदारी भएको थियो।
सकिबको रेकर्ड
सकिब गत वर्ष टेस्ट क्रिकेटका छिटो ३ हजार रन बनाउने र २ सय विकेट लिने क्रिकेटर बनेका थिए। उनी टी-२० क्रिकेटका ४ हजार रन बनाउने र ३ सय विकेट लिने तीन खेलाडी मध्ये एक हुन्।
उनी तीनै फर्म्याटमा गरी १० हजार रन र ५ सय विकेट लिने खेलाडी समेत हुन्। उनी यो रेकर्ड तीव्र बनाउने खेलाडी हुन्।
उनले आइतबार एकदिवसीय खेलमा ५ हजार रन र २५० विकेट पूरा गरे। उनी छिटो ५ हजार रन र २५० विकेट लिने रेकर्ड बनाउन सफल भए। उनले यो रेकर्ड बनाउन १९९ एकदिवसीय खेल खेले। यसअघि अब्दुल रजाकले २५८ खेलमा यो रेकर्ड बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।