इस्लामाबाद- सेवा बन्द गरेको ११ वर्षपछि ब्रिटिस एयेरवेजले पाकिस्तानको इस्लामाबादमा पुनः उडान सेवा सुरु गरेको छ।
५४ जनाको मृत्यु हुनेगरी कराँचीस्थित एक होटलमा सन् २००८ मा भएको विस्फोटपछि ब्रिटिस एयेरवेजले पाकिस्तानमा उडान सेवा बन्द गरेको थियो। आइतबारबाट पुनः एयेरवेजले इस्लामाबादमा उडान गर्दै सेवा पुनः सुरु गरेको हो।
'बोइङ-७८७' विमानबाट एयरवेजले साताको ३ पटक इस्लामाबाद देखि लन्डनको हिथ्रो विमानस्थलसम्मको उडान गर्नेछ। पश्चिमा राष्ट्रबाट पाकिस्तानमा उडान गर्ने ब्रिटिस एयेरवेज एक मात्र कम्पनी हो।
सन् २००८ को सेप्टेम्बरमा एक ट्रकबाट इस्लामाबादको मेरिओट हेटलमा आत्मघाती बम विस्फोट गराइएको थियो। ५४ जनाको मृत्यु भएको सो घटनामा २ सय ५० भन्दा बढी घइते भएका थिए।
घटना लगत्तै एयरवेजले एक सूचना जारी गर्दै भनेको थियो- पाकिस्तानका लागि हुँदै आएका सबै उडान सेवा बन्द गरिएको छ। हामी हाम्रा सेवाग्राही, कर्मचारी तथा विमानको सुरक्षालाई लिएर सम्झौता गर्न गर्न सक्दैनौं।'
तर, गएको डिसेम्बरमा भने एयरवेजले इस्लामाबादमा पुनः उडान गर्ने बताएको थियो। सन् २०१८ मा इस्लामाबादमा सञ्चालनमा आएको नयाँ विमानस्थलमा चुस्त सुरक्षा व्यवस्था तथा सुविधासम्पन्न भएका कारण एयरवेजले सेवा सुचारु गरेको बताइएको छ।
यसअघि आइतबारसम्म पाकिस्तानको उडान कम्पनी पिआइएले मात्रै बेलायतका लागि सिधा उडान गर्दै आएको थियो।
पाकिस्तानका लागि बेलायती महावाणिज्यदूत थोमस ड्र्यूले भने, 'पाकिस्तानमा बेलायती कम्पनीहरुले आफ्नाो सेवा विस्तार तथा उद्योग खोलेका कारण उनीहरुको सेवाका लागि ब्रिटिस एयरवेजले सेवा सुरु गरेको हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।