काठमाडौ– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबमाथि प्रदेश ५ ले डिएल मेथडमा ३ विकेटको जित हात पारेको छ। जितसँगै समूह 'ए' मा प्रदेश ५ तेस्रो स्थानमा उक्लिएको छ। उसले ३ खेलबाट ३ अंक जोडेको छ भने सेमिफाइनल सम्भावना जीवित राखेको छ। सबै खेलेको एपिएफ ६ अंकसहित यसअघि सेमिफाइनल पुगेको छ। दोस्रो स्थानको प्रदेश ३ को ४ अंक छ।
आइतबार मुलपानीमा टस जितेर पहिले ब्याटिङ गरेको एपिएफ २ बल खेल्न बाँकी छदा १ सय ८४ रनमा अलआउट भयो। उसका लागि प्रदीप ऐरीले नटआउट ७७ रन जोड्दा अन्य ब्याट्सम्यान जम्न सकेनन्। प्रदीपले १३१ बलमा ३ चौका र १ छक्का हिर्काए। बलिङमा प्रदेश ५ का कृष्ण कार्कीले ३ विकेट र सन्दीप सुनारले २ विकेट लिए।
दोस्रो इनिङमा ३२ ओभरमा झारिएको खेलमा प्रदेश ५ लाई १ सय ४२ रनको लक्ष्य दिइयो। जुन लक्ष्य प्रदेश ५ ले २९.५ ओभरमा ७ विकेट गुमाएर पार गर्यो। प्रदेश ५ का लागि प्रनित थापामगरले नटआउट ३० रन बटुले भने सौरभ खनालले २९ रन जोडे। बलिङमा एपिएफका अमरसिंह रटेउलाले २ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।