फाइल तस्बिर
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनमतको चरम दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।
वरिष्ठ नेता पौडेलले दुई तिहाई मत पाएको केपी ओली नेतृत्वको सरकारले अदालतलाई तर्साउने, पत्रकारलाई तर्साउने तथा मानव अधिकारवादी संघ, संस्था अंकुश लगाउने काम गरेर जनमतको दुरुपयोग गरेको आरोप लगाएका हुन्।
आईतबार काठमाडौंमा आयोजित ‘मानव अधिकार आन्दोलनको नयाँ धार’विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले भने, 'देश, परिवर्तन र आन्दोलनको भावना विपरीतका गतिविधि गरिरहेकाले आफ्नो पार्टीले सरकारको विरोध गर्नु परेको हो।'
वरिष्ठ नेता पौडेलले लोकतन्त्र विरोधी गतिविधिको विरोध गर्दा आफ्नो पार्टीले कम्युनिष्ट नेतृत्वको सरकारको विरोध गरेको आरोप खेप्नु परेको गुनासो पनि गरे।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माले)का महासचिव सिपी मैनालीले सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा पूर्णतः असफल भएको दाबी गरे। ‘समृद्ध नेपालः सुःखी नेपाली’ बनाउने आफ्नै नारा विपरीत सरकारले गतिविधि गरिरहेको छ,' महासचिव मैनाली भनाइ थियो।
महासचिव मैनालीले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकप्रति पनि आपत्ति जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।