फाइल तस्बिर।
काठमाडौं- राष्ट्रिय जनता पार्टी नेपालले संविधानले गरेको व्यवस्था विपरीत लोकसेवा आयोगले प्रदेशलाई समेत हुने गरी कर्मचारी परिपूर्तिका लागि विज्ञापन आव्हान गरेको भन्दै गम्भीर आपत्ती जनाएको छ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै राजपाका सांसद लक्ष्मणलाल कर्णले सरकार र संवैधानिक निकायले संविधानको कार्यान्वयन नगरेको आरोप लगाए। उनले संविधानविपरीत लोकसेवा आयोगले विज्ञापन आव्हान गरेको भन्दै सच्याउन सरकारको ध्यानाकर्षण गराए।
उनले भने, 'न्यायपरिषद्ले न्याय परिषद् ऐनको वास्ता गर्दैन, अहिलेसम्म निकालेको कही समानुपातिक समावेशी छैन। मन्त्रिपरिषद्ले राजदूतहरुको नियुक्ति गर्छ, जुन समानुपातिक समावेशी हुँदैन। संवैधानिक परिषद्ले आयोगका सदस्य नियुक्ति गर्छ, विभिन्न आयोग समानुपातिक समावेशी हुँदैननन्। अहिले त ९ हजारभन्दा बढी सिट लोकसेवा आयोगले निकालिरहेको छ। लोकसेवा आयोगले पनि नमान्ने यो संविधानलाई अब कसले मान्ने? आयोगले नमान्ने। सरकारले नमान्ने। न्याय परिषद्ले पनि नमान्ने हो भने कसले मान्ने यो संविधान? यदि सरकारले नै मान्दैन, संवैधानिक परिषद्ले नै संविधान मान्दैन भने जनताले मात्रै मान्ने यो संविधान? जनतालाई जबरजस्ती मनाउन मात्रै बनाएको हो यो संविधान?'
लोकसेवा आयोगले संघीय कर्मचारीको मात्रै नियुक्ति गर्नुपर्नेमा समग्र मुलुकभरका लागि विज्ञापन आव्हान गरिएकोप्रति उनले गम्भीर आपत्ति जनाए। लोकसेवा आयोगले निकालेको विज्ञापनको विरोध भइरहँदा पनि सच्याउनुको सट्टा आफूले गरेको काम ठिक भनेको भन्दै उनले आक्रोश पोखे। उनले प्रदेशमा पनि लोकसेवा आयोग रहने व्यवस्था संविधानमा गरिएकोतर्फ सरकारको ध्यानाकर्षण गराए।
'स्थानीय तहलाई बेवास्ता गरेर समग्र देशभरको कर्मचारी नियुक्तिका लागि विज्ञापन आव्हान गर्न पाइन्छ? संविधानमा व्यवस्था भएको पालना होस्। यदि यो पालना भएन, सबै कुरामा आन्दोलन गर, आन्दोलनबाटै यो व्यवस्थित हुन्छ भन्ने ठानेको छ भने सरकारले, आन्दोलनबाट पनि हामी पछि हट्दैनौं। यदि यसमा परिर्वतन भएन भने आन्दोलन पनि अगाडि बढ्छ।,' कर्णले बताए।
उनले मधेस आन्दोलनको अध्ययन प्रतिवेदन सार्वजनिक नगरिएकोमा पनि असन्तुष्टि पोखे। नेता कर्णले भने, 'गिरिसचन्द्र लाल आयोगको प्रतिवेदन कहाँ गयो? कसले खोजिदिने हो? किन नआएको हो? पटक-पटक सभामुखको निर्देशन किन पालना नभएको हो? सरकारले अबिलम्ब जवाफ देओस्। नभए बजेट सेसन हामी मान्दैनौं। यो सेसन फेरि अवरोध गर्नुपर्ने अवस्था सिर्जना हुन्छ।'
सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको जानकारी गराउने बित्तिकै राजपाका सांसदहरु उभिएपछि सांसद कर्णलाई बोल्ने समय दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।