काठमाडौं–नेपाली युवा टोलीले थाइल्यान्डमा आयोजना भइरहेको एसिसी युथ–१६ क्षेत्रीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा हङकङलाई ४ विकेटले पराजित गरेको छ।
मंगलबार बैककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर व्याटिङ रोजेको हङकङलाई ३५ ओभरमा ८२ रनमा रोकेको थियो नेपालले। ९ विकेट गुमाएको हङकङ विरुद्ध प्रतिश जिसीले ३ र अजयकुमार लुनियाले २ विकेट लिएका थिए। निखिलकुमार सिंह र नारायण जोशीले १–१ विकेट बाँडेका थिए।
नेपालले निर्धारित लक्ष्य २४ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। नेपालको जितमा तृप्तराज दासले सर्वाधिक २७ रन जोडे। राजन मगरले १७, सुनिल भण्डारी र विशालविक्रम केसीले समान ११–११ रन बनाए।
बलिङतर्फ हङकङका नर्सुला रानाले ३ विकेट लिए। दुई खेल जितेको नेपाल ४ अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ। यो प्रतियोगितामा ८ राष्ट्र सहभागी छन्। शीर्ष दुई स्थान ओगट्ने टोलीले सेमिफाइनल प्रवेश पाउने छ। नेपालले सोमबार भएको पहिलो खेलमा थाइल्यान्डलाई १ सय ३३ रनले पराजित गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।