बेइजिङ- चीनले शनिबारदेखि लागू हुने गरी केही अमेरिकी उत्पादनमाथि भन्सार कर थप गरेको चिनियाँ राज्य परिषद्को भन्सार कर समितिले जनाएको छ।
घोषणा अनुसार अमेरिकाबाट उत्पादित लगभग ६० अर्ब अमेरिकी डलरका आयातित सामान सूचीमध्ये केही सामानका लागि छुट्टाछुट्टै थप कर उठाउनेछ। यसरी लिइने थप करमा सामान अनुसार थप २५ प्रतिशत, २० प्रतिशत र १० प्रतिशतको भन्सार कर असुल्नेछ। त्यस्तै पहिले थप ६ प्रतिशतको भन्सार कर उठाउने गरेको सामानमा निरन्तर ६ प्रतिशत थपिएको छ।
चीन–अमेरिका व्यापार विवादबारे अमेरिका र चीनबीच लामो समय छलफलपछि विश्व समुदायले विवाद अन्त्य गरी दुई ठूला अर्थतन्त्रले सम्झौता गर्ने अपेक्षा गरिएको थियो।
चिनियाँ कानुन र नियम बमोजिम, चीनले ’अविश्वसनीय एकाइ सूची’ खडा गर्नेछ। जसमा बजारको नियमको पालना नगर्ने, सम्झौताविपरीत काम गर्ने, व्यापारिक उद्देश्य बाहेकका अन्य लक्ष्य लिएकाहरूले चिनियाँ कम्पनीमाथि नाकाबन्दी र आपूर्ति विच्छेद गरेर चिनियाँ कम्पनीको आधिकारिक हक अधिकारमा गम्भीर क्षति पुर्याएका विदेशी व्यवसाय, संगठन वा व्यक्तिलाई नै समावेश गराइने चीनले बताएको छ। यसका लागि चीनले आवश्यक ठोस कदम छोटो समयमै सार्वजनिक गर्ने चीनले शुक्रबार नै बताएको थियो।
'चीनले विचारविमर्श र छलफलमार्फत व्यापार द्वन्द्व र मतभेदको समाधान गर्नुलाई प्राथमिकता दिइरहेको बताउँदै आएको छ। तर, अमेरिकाले पेलेर अघि बढ्न खोजेमा चीनले पनि बाध्य भै तदनुरूप कदम चाल्न पछि हट्ने छैन,' चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले भने। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।