काठमाडौं- इंग्लिस क्लब लिभरपुलले युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार विहान स्पेनको म्याड्रिडमा भएको च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलले अर्को इंग्लिस क्लब टोटनह्यामलाई २-० गोलले पराजित गरेर सन् २००५ पछि उपाधि जितेको हो। लिभरपुलले युरोपियन कप/च्याम्पियन्स लिगको उपाधि जितेको यो छैटौं पटक हो।
लिभरपुललाई छैटौं पटक युरोपको च्याम्पियन बनाउने क्रममा मोहमद सलाह र डिभोक ओरिगीले गोल गरे। सलाहले खेलको दोस्रो मिनेटमै गोल गरेर लिभरपुललाई सुरुवाती अग्रता दिलाए। टोटनह्यामका माउसा सिसोकोले डिबक्सभित्र ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा सलाहले गोल गरेका थिए। साडियो मानेको क्रस रोक्ने क्रममा सिसोकोको हातमा बल लागेको थियो।
दोस्रो हाफमा सब्सिच्युट खेलाडीको रुपमा मैदान छिरेका ओरिगीले ८७ मिनेटमा डिबक्सबाट गोल गरेपछि लिभरपुल जिततर्फ लम्किएको थियो।

खेलको सुरुवातमा पछि परेको टोटनह्यामले बल नियन्त्रणमा लिए पनि पहिलो प्रहार पोस्टमा हान्न ७३ मिनेटसम्म पर्खनु परेको थियो। पछिल्लो १० मिनेटमा टोटनह्यामले २ वटा सुन्दर मौका गुमाएको थियो। सन हेउन मिन र लुकास मउराको प्रहारलाई लिभरपुलका गोलकिपरले विफल पारिदिएका थिए।
लिभरपुल गत संस्करणमा पनि फाइनलमा पुगेको थियो। सो फाइनलमा लिभरपुललाई स्पेनिस क्लब रियल म्याड्रिडले पराजित गरेको थियो। पछिल्लो पटक लिभरपुलले सन् २००५ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो। लिभरपुलले त्यतिबेला इटालियन क्लब एसी मिलानलाई हराएको थियो। लिभरपुललाई २००७ को फाइनलमा भने मिलानले नै पराजित गरेको थियो। लिभरपुलले २००७ पछि १ च्याम्पिन्यस लिग र घरेलु फुटबलको ४ वटा फाइनल गुमाएको थियो।
यस सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि भिडन्तमा पनि लिभरपुल १ अंकले पछि परेको थियो। लिभरपुललाई १ अंकले पछि पारेर म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।