भक्तपुर – ऐतिहासिक सम्पदा रहेका क्षेत्रमा चुनाव प्रचारका क्रममा टाँगिएका ब्यानर, तुल र चुनाव चिन्ह अंकित ध्वजाका कारण भक्तपुर कुरुप बनेको छ।
सम्पदा क्षेत्र, सडक, चोक, गल्ली र मतदानस्थलको आसपासमा ब्यापक रुपमा टाँगिएका यस्ता प्रचार सामग्री निर्वाचन सकिएको साता बित्न लाग्दा पनि नहटाउँदा भक्तपुर कुरुप बनेको हो।
निर्वाचन आचारसंहिता विपरीत टाँगिएका यस्ता प्रचारसामग्रीका कारण भक्तपुर घुम्न आएका पर्यटकले कुरुप बनेको प्रतिक्रिया दिने गरेका छन्। भक्तपुरका पाँचतले मन्दिर परिषरमा तस्वीर लिँदै गरेका अमेरिकाका नागरिक म्याकस डेबिटले भक्तपुर कुरुप बनेको बताए।
उनले भने —‘निर्वाचनमा यस्तो गर्न पाइन्छ, हाम्रो देशमा पाइदंैन, यहाँ सरकारले कारबाही गर्दैन ?’
भक्तपुरकै दत्तात्रयमा भेटिएका जर्मनीका जर्मन नागरिक भिक्टोन माइक्सलले सम्पदाको तस्वीर समेत लिन नपाएको गुनासो गरे। जताततै सम्पदालाई यस्ता सामग्रीले छापेकाले तस्वीर लिन नपाएको उनको गुनासो छ ।
विदेशी पर्यटक लिएर भक्तपुर विभिन्न ठाउँ घुमाउन आएका नेपाली पथ प्रदर्शक रामेश्वर पौडेलले भक्तपुर आएका पर्यटक दिक्क मानेर फर्कने गरेको बताए। विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाको आसपासमा समेत निर्वाचन प्रचार सामग्री टाँगिएकाले सम्पदाकै खिल्ली उडाएको पर्यटकले प्रतिक्रिया दिएको उनले बताए।
होटल व्यवसायी कैलाश श्रेष्ठले भक्तपुरमा कम्तीमा एकरात बस्ने गरेर आउने पर्यटकको संख्यामा कमी आएको बताउनुभयो । कतिपय पर्यटक दिउँसो भक्तपुर घुमेर एकरात भक्तपुर बस्ने गरेर आउँने गरेको भएपछि निर्वाचन सामग्रीले भक्तपुरलाई कुरुप बनाएपछि पर्यटक दिनभरी पनि नबसी फर्कने गरेको उनले बताए।
मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयले यस्ता सामग्री पटक÷पटक हटाउन निर्देशन दिए पनि दलहरुले निर्वाचन सामग्री हटाएका छैनन्। भक्तपुर नगरपालिका, मध्यपुरथिमि नगरपालिकाका ऐतिहासिक सम्पदा क्षेत्र, मठ मन्दिरका वरिपरी, चाँगुनारायण मन्दिर जाने सडकलगायतका सम्पदास्थल प्रचार सामग्रीले कुरुप बनेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।