काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा ‘नक्कली भगवान्’ जन्मिने क्रम बढेको भन्दै व्यङ्ग्य गरेका छन् । आफ्नै ज्ञान र विद्वान्लाई चिन्न नसक्ने तर बाहिरबाट आउने व्यक्तिलाई सहजै देवत्वकरण गर्ने प्रवृत्तिप्रति पनि उनले टिप्पणी गरेका छन् ।
मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै ओलीले देवताहरूको जन्मसम्बन्धी पौराणिक प्रसङ्ग जोडेर ‘नक्कली भगवान्’माथि कटाक्ष गरेका हुन् ।
‘२२–२३ सय वर्षअघि भगवान्हरू छ्यासछ्यासती जन्मिँदा तेत्तीसकोटी जन्मिए । धन्न पार्वतीले श्राप दिइछन् र देवता जन्मिन पाएनन्,’ ओलीले भने, ‘अब कुनै देवताको पनि सन्तान नहोस् भनेपछि ठप्प भए देवताहरू, तर पार्वतीले श्राप दिएपछि फेरि नक्कली भगवान् जन्मिएर हैरान छ ।’
ओलीले नेपाली समाजमा विदेशी वा दक्षिणतिरबाट आउने जोगीलाई विशेष सम्मान गर्ने, तर आफ्नै देशका विद्वान्लाई बेवास्ता गर्ने प्रवृत्ति रहेको बताए ।
‘हामी आफैँले पनि दक्षिणतिरका जोगी आए भनेदेखि ठ्याप्पै खुट्टा समातेर ढोग्न मन लागिहाल्ने चलन छ,’ उनले भने, ‘आफ्नाकहाँ विद्वान् त्यति चिन्दैनौँ ।’
नेपालीले आफ्नै विद्वान्ले लेखेका ग्रन्थ र विचारलाई पर्याप्त महत्त्व नदिने तर विदेशीका पुस्तक तथा भनाइलाई उद्धृत गर्ने प्रवृत्तिप्रति पनि ओलीले असन्तुष्टि जनाए ।
उनको टिप्पणीले नेपाली समाजमा आफ्नै ज्ञान, दर्शन र विद्वताको पहिचान तथा बाह्य व्यक्तिप्रतिको अन्धश्रद्धाबारे बहसलाई पुनः सतहमा ल्याएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।