नयाँ दिल्ली- भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष तथा नवनिर्वाचित सांसद राहुल गान्धीले आफ्ना मतदाताहरूलाई निर्वाचन क्षेत्रमै गएर धन्यवाद दिने भएका छन्।
यही जुन ७ देखि दुई दिनसम्म आफ्नो निर्वाचन क्षेत्र वायनाद गएर उनले मतदाताहरुलाई धन्यवाद दिने भएका हुन्।
यसअघि उनले मे २४ मा पनि आफूलाई लोकसभा सदस्यमा निर्वाचित गरेको प्रति कृतज्ञता व्यक्त गर्दै मतदाताहरूलाई धन्यवाद दिएका थिए। उनले आफूसँगै निर्वाचित अन्य सांसदहरुलाई पनि बधाई दिएका थिए।
अध्यक्ष गान्धीले आफ्नो निर्वाचन क्षेत्रबाट ७ लाख ५० हजार ३४ मत प्राप्त गरेका थिए। उनका निकटम प्रतिद्वन्द्वी लेफ्ट डेमोक्रयाटिक फ्रन्ट (एलडिएफ)का पिपी सुनिरका पक्षमा भने ४ लाख ३१ हजार ६३ मत परेको थियो।
अध्यक्ष गान्धी भारतकै अर्को निर्वाचन क्षेत्र अमेठीबाट पनि निर्वाचनमा प्रतिश्पर्धा गरेका थिए। तर त्यस क्षेत्रमा भने उनी पराजित भएका थिए। पराजित भए पनि उनले त्यस क्षेत्रका मतदाताहरुलाई पनि वक्तव्यमार्फत धन्यवाद दिएका थिए।
अमेठीमा गान्धीलाई भारतीय जनता पार्टीकी स्मृति इरानीले पराजित गरेकी थिइन्। इरानी नयाँ केन्द्रीय मन्त्रीमण्डलमा समेत परेकी छिन्। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।