बेइजिङ- चीन–अमेरिका व्यापार विवाद समाधानको सङ्केत आउने अपेक्षा विश्व समुदाय र सम्बन्धित देशका व्यवसायीलेसमेत गरिरहेका समय विवाद थप चर्किने सङ्केत देखा परेको छ।
अमेरिकाले चिनियाँ टेलिकम कम्पनी हुवावेलाई लक्षित गर्दै विवादलाई बढाएको र अमेरिकाले चीन निर्यात हुने थप सामानमा कर वृद्धि गर्ने निर्णयसँगै चीनले ६० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानमाथि थप कर वृद्धि गर्ने निर्णय यस पहिले नै गरेको छ। उक्त कर वृद्धि शनिबारदेखि लागु हुँदैछ।
तर, यसको एक दिन पहिले चीनले ‘अविश्वसनीय’ विदेशी कम्पनी र व्यक्तिलाई कालो सूचीमा राख्ने निर्णय पनि गरेको छ। अमेरिकी वाणिज्य विभागले चिनियाँ कम्पनी हुवावेलाई अविश्वसनीय कम्पनीका रूपमा राखिसकेको छ।
बदलामा चीनको वाणिज्य मन्त्रालयले शुक्रबार घोषणा गरेको छ, 'चीनले पनि ‘अविश्वसनीय कम्पनी तथा व्यक्ति’को सूची छिट्टै सार्वजनिक गर्नेछ।'
विदेश मन्त्रालयका प्रवक्ता केओ फेङले भने, 'चीनको उक्त सूचीमा विदेशी उद्योग, संगठन तथा व्यक्ति, जसले चिनियाँ बजारको नियमलाई पालना गरेका छैनन्, लाई चीनमा गतिविधि सञ्चालन गर्नबाट रोक लगाउनसक्ने गरी निर्णय गर्नेछ।'
'चिनियाँ कानुन र नियम बमोजिम, चीनले ’अविश्वसनीय एकाइ सूची’ खडा गर्ने छ, जसमा बजारको नियमको पालना नगर्ने, सम्झौता विपरीत काम गर्ने, व्यापारिक उद्देश्य बाहेकका अन्य लक्ष्य लिएकाहरूले चिनियाँ कम्पनीमाथि नाकाबन्दी र आपूर्ति विच्छेद गरेर चिनियाँ कम्पनीको आधिकारिक हक अधिकारमा गम्भीर क्षति पुर्याएका विदेशी व्यवसाय, संगठन वा व्यक्तिलाई नै समावेश गराइने छ। सम्बद्ध ठोस कदम छोटो समयमै सार्वजनिक गरिने छ।,' वाणिज्य मन्त्रालयले भनेको छ।
प्रमाण विनाको अवस्थामा अमेरिकाले केही चिनियाँ कम्पनीहरूलाई निर्यात नियन्त्रण एकाइ सूचीमा समावेश गराएकोले चीनले जवाफी प्रतिरोध कदम चालेको हो। 'आफ्नो वैधानिक हक अधिकारको संरक्षण गर्ने चीनको यस्तो गतिविधि अप्रत्यासित होइन,' चीनले भनेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।