काठमाडौं– एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिजले सानदार सुरुवात गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा उसले पाकिस्तानलाई ७ विकेटले हराएको हो।
पाकिस्तानले दिएको १ सय ६ रनको झिनो लक्ष्य वेस्ट इन्डिजले १३.४ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो। वेस्ट इन्डिजका लागि क्रिस गेलले ५० रन बनाए। साइ होप ११ रनमा आउट हुँदा डिएम ब्राभो शून्यमा आउट भए। निकोलास पूरानले नटआउट ३४ रन जोडे। बलिङमा पाकिस्तानका मोमहद आमिरले ३ विकेट लिए।
त्यसअघि नटिङघममा टस जितेको वेस्ट इन्डिजले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको पाकिस्तान २१.४ ओभरमा १ सय ५ रनमा अलआउट भयो।
तेस्रो ओभरदेखि विकेट गुमाउन थालेको पाकिस्तानका ब्याट्सम्यान वेस्ट इन्डिजका बलरसामू नीरिह साबित भए। ओपनर इमान उल हक २ रनमा आउट हुँदा उनका ओपनिङ पार्टनर फखर जमानले २२ रन जोडे।
बाबर अजामले पनि २२ रन बटुल्दा हरिस सोहिल र कप्तान सर्फराज मोहमद ८–८ रनमा आउट भए। मोहमद हफिजले १६ रन जोडे भने इमाद वासिम (१), सादब खान (०), हसन अली (१८) र मोहमद अमिरले नटआउट ३ रन मात्र जोड्न सके।
बलिङमा वेस्ट इन्डिजका ओसान थोमसले ४ विकेट लिए। उनले ५.४ ओभरमा २७ रन दिए। कप्तान जासन होल्डरले ३ विकेट हात पारे भने आन्द्रे रसेलले २ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।