भैरहवा- उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संविधानमा संशोधन नभए समाजवादी पार्टी यथास्थितिमा बस्न नसक्ने बताएका छन्। उनले आफ्नो नेतृत्वमा संविधान संशोधनका लागि पार्टी सरकारमा गएको उल्लेख गर्दै सरकारले संविधान संशोधन गर्नेतर्फ ध्यान नदिए आफूहरु यथास्थितिमा रहन नसक्ने चेतावनी दिएका हुन्।
मन्त्री यादवले दुई तिहाई भएर पनि सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए। उनले वर्तमान दुई तिहाईको कम्युनिष्ट सरकारले काम गर्न नसके नेपालबाट पनि अन्य मुलुकबाट जस्तै कम्युनिष्ट पार्टी बढारिने बताएका छन्।
उनले विश्वका अधिकांश मुलुकबाट कम्युनिष्टहरु बढारिरहेको अवस्था दर्शाउँदै भ्रष्टाचार नियन्त्रण, सुशासन कायम लगायतका काम गर्न नसके अन्य मुलुक जस्तै नेपालबाट पनि कम्युनिष्टहरु बढारिने दाबी गरे।
'विश्वबाट कम्युनिष्टहरु बढारिरहेको अवस्थामा यहाँ कम्युनिष्टको बहुमत सरकार छ र अहिले उनीहरुको लागि यो अग्निपरिक्षाको समय हो,' समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले भने, 'यदि कम्युनिष्ट नेतृत्वको सरकारले भ्रष्टाचार, विभेदको अन्त्य, संघियताको संस्थागतलगायत काम गर्न सकेन भने कम्युनिष्ट इतिहासका पात्र हुनेछन्।'
शुक्रबार भैरहवामा पार्टीद्धारा आयोजित प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुपूर्व पत्रकारहरुसँग कुराकानी गर्दै उनले संविधान संशोधनको लागि सरकारसँग छलफल भइरहेको र प्रधानमन्त्री केपी ओलीले संशोधन गर्ने आश्वासन दिइरहेको बताए।
'संविधान संशोधनको लागि दुई तिहाई आवश्यक पर्ने भएकाले हामीहरु सरकारमा गएका हौं,' उनले भने, 'प्रधानमन्त्री ओलीले संशोधन गर्छौं भनिराख्नु भएको छ। तर, अहिलेसम्म संशोधनका लागि सरकारले सहयोग गरेको छैन।'
सरकारबाट बाहिरन सक्ने संकेत गर्दै उनले भने, 'यदि सरकारले संविधान संशोधन नगरेमा आफूहरु यथास्थितिमा रहदैनौँ।'
संघियतालाई संस्थागत गर्ने काम सरकारको मूख्य चुनौती रहेकोमा जोड दिँदै उनले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताए। 'प्रदेश सरकार अधिकार सम्पन्न भए मात्र संघियता र गणतन्त्र बलियो हुन्छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।