इनरुवा– वाम गठबन्धन तर्फकी एमाले उम्मेदवार भगवती चौधरीले उक्त क्षेत्रमा कांग्रेस पक्षबाट धाँधली भएको आरोप लगाएकी छिन्। उनले निर्वाचनका बेला निष्पक्ष चुनाव गराउन नसकेको भन्दै निर्वाचन आयोगले खटाएका कर्मचारीले फटाइ गरेको आरोप लगाउँदै आएकी छिन्।
चौधरीले केही थान ब्यालेट बक्समा शंका उब्जिएको भन्दै आफूलाई सूचना आएका आधारमा खोजी गर्दा तयारी मुजुल्का र केही थान ब्यालेट बक्सको सिल झाडीमा भेटिएको बताइन्। उनले सुनसरी सदरमुकाम स्थित जिल्ला समन्वय समितिको परिसरमा पत्रकारसँग कुरा गर्दै प्राप्त शिल र तयारी मुजुल्का सार्वजनिक गरिन्। ‘प्रशासनका केही अधिकारीले दिएको सूचना सत्य सावित निस्कियो’, उनले भनिन्, ‘शक्ति र सत्ताको आडामा आफूले प्राप्त जनादेशको खिल्ली उडाउन खोजियो।’ उनले आफू न्यायका लागि अदालतको ढोकासमेत जान तयार हरेको बताइन्। उनले सुनसरीका मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकाल र प्रहरी प्रमुख एसपी विद्यानन्द माझीको भूमिकामाथि समेत प्रश्न उठाइन्।

मतगणना स्थगित हुनुअघि चौधरीले २९ हजार ३ सय २६ मत प्राप्त गरेकी छिन् भने कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारले २९ हजार १ सय ७१ मत ल्याएका छन्। १ सय ५५ मतको मात्र फरक हुँदा चौधरीले विवाद झिक्न खोेजेको गच्छदारले आरोप लगाएका छन्। उनले तुरुन्त गणना सुचारु गर्न माग गरेका थिए। सोमबार सुनसरी सरदमुकाम इनरुवामा पत्रकारसँग कुरा गर्दै गच्छदारले चौधरीको क्रियाकलाप गैरकानुनी भएको टिप्पणी गर्दै तुरुन्त मतगणना जारी राखिनुुपर्ने माग गरेका थिए।
गच्छदारले आफू २४ सय मतले पछि पर्दासम्म केही नबोलेको भन्दै अहिले आएर मतान्तर घटाएर जित्न लाग्दा अनावश्यक विवाद झिक्ने काम लोकतन्त्रमा नसुहाउने टिप्पणी गरे।

चौधरीले ९ वटा विवादित मतपत्रबारे सिरियल नम्बर हेर्न पाउँ भन्दै माग गर्दै आएकी छिन्। तर, निर्वाचन अधिकृत ढकालले निर्वाचन कानुन विपरित उक्त सिरियल नम्बर हेर्न नमिल्ने बताएका कारण विवाद उत्पन्न भएको वामगठबन्धनका तर्फबाट सुनसरी ३ प्रदेशसभा (क) का निर्वाचित सांसद निलम बस्नेतले बताए। ‘हामीले प्राप्त गरेको शिल कैँचीले काटिनुपर्नेमा हातले चुँडाइएको छ’, उनले भने, ‘शिलको नम्बरसँग मेल खाने मुजुल्कासमेत झाडीमा सँगै भेटिनुले बक्सा परिवर्तन गरी धाँधली गरिएको पक्का देखिन्छ।’
यता सुनसरीका मुख्य निर्वाचत अधिकृत पुरुषोत्तम ढकालले सञ्चारकर्मीलाई कुनै जवाफ दिन मानेनन्। जवाफ माग गरेका पत्रकारलाई उनले भने, ‘नजिता समाचारमा पाउनु हुनेछ, के हुन्छ विस्तारै थाहा हुन्छ।’
स्थगित मतगणना र त्यसबाट हुन सक्ने सुरक्षा खतारबारे बुुझ्न प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) पशुपति उपाध्याय सुनसरी सदरमुकाम आएका छन्। उनले जिल्लाको सुरक्षा व्यवस्थालाई कडाइ पार्न निर्देशन दिँदै मतगणनाको सुरक्षा कसिलो बनाउन निर्देशनसमेत दिए।
छोटो प्रतिक्रिया दिँदै एआइजी उपाध्यायले भने, ‘निर्वाचनको प्राविधिक पक्षबारे हेर्ने जिम्मा निर्वाचन कार्यलयको हो, म यहाँ उत्पन्न परिस्थितिबारे बुुझ्न र कुनै सुरक्षा खतरा नहोस् भन्ने आशयका साथ आएको हुँ।’ उनले सुरक्षा व्यवस्थामा कुनै सम्झौता नगरेको बताए। ‘हामीसँग अतिरिक्त फोर्स तयारी छ, प्रहरीका साथै सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले हरदम सुरक्षा प्रदान गरिरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।