इटहरी- अघिल्ला दुई प्रत्यक्ष निर्वाचनमा हारेका प्रभावशाली कांग्रेस नेता तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमाले सचिव योगेश भट्टराईले यो पटक भने भारी मतान्तरले चुनाव जितेका छन्।
पहिलो र दोस्रो संविधानसभामा चुनावमा काठमाडौंबाट लगातार हारेका भट्टराई र भोजपुरमा २०५६ र २०६४ मा दुई पटक प्रत्यक्ष चुनाव हारिसकेका कार्कीले यसपालिको चुनाव जितेर हारको ‘ह्याट्रिक’ जोगाएका छन्।
काठमाडौं छाडेर गृहजिल्ला ताप्लेजुङ गएर प्रतिनिधिसभा सदस्यको लागि चुनाव लडेका एमाले सचिव तथा प्रचार विभाग प्रमुख भट्टराईले १२ हजार ५ सय ९१ मतान्तरले चुनाव जिते। आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसबाट लोकतान्त्रिक गठबन्धनका उम्मेदवार केशव दाहाल हराउन भट्टराईले २९ हजार ४ सय ७९ मत ल्याए। दाहाल १६ हजार ८ सय ८८ मतमै सीमित हुन पुगे।
यस्तै, भोजपुरबाट सुनसरी चुनाव लड्न आएका कार्कीले तेस्रो पटकको प्रयासमा प्रत्यक्ष चुनावी जित निकालेका छन्। सुसनरीको क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य कार्कीले ३२ हजार ३ सय ४७ मत ल्याएर वाम गठबन्धनका उम्मेदवार रमेश श्रेष्ठलाई ६ हजार ५ सय ९७ मतले पराजित गरे। श्रेष्ठले २५ हजार ७ सय ५० मत ल्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।