दाङ ः दाङ सबै मतपरिणाम सार्वजनिक भएको छ । मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षको परिणाम सोमबार सार्वजनिक भएको हो ।
दाङमा तीनवटै प्रतिनिधिसभा सदस्य वाम गठबन्धनले जितेको छ भने प्रदेशसभाको पाँचवटा वाम गठबन्धन र एउटा काँग्रेसले जितेको छ ।
क्षेत्र नं १ मा वाम गठबन्धनबाट (एमाले)का उम्मेदवार मेटमणि चौधरी निर्वाचित भएका छन् । पहिलो पटक आम चुनाव लडेका मेटमणिले पूर्वसांसद एवम् नेकाकी उम्मेदवार सुशीला चौधरीलाई १३ हजार ८३४ मतान्तरले हराए। कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको घर भएको दाङ क्षेत्र नं १ मा जीत निकाल्ने क्रममा मेटमणिले ३७ हजार ९०८ मत प्राप्त गरे । उनको निकटतम प्रतिस्पर्धी काँग्रेस उम्मेदवार सुशीला चौधरीले २४ हजार ७४ मत पाइन्।
यसैगरी दाङ क्षेत्र नं २ मा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा भारी मत अन्तरले विजयी भए। महराले काँग्रेसका पूर्वसांसद राजु खनाललाई १४ हजार १४५ मतान्तरले हराए । महराले ४० हजार ४२ मत पाए भने खनालले २५ हजार ८९७ मत प्राप्त गरे । महरा पहिलो संविधानसभा निर्वाचन २०६४ मा दाङ क्षेत्र नं ३ बाट विजयी भएका थिए। दाङ क्षेत्र नं ३ मा पनि वाम गठबन्धनका उम्मेदवार हिराचन्द्र केसी निर्वाचित भए एमाले दाङ जिल्ला सचिवसमेत युवानेता केसीले काँग्रेस केन्द्रीय सदस्य एवं पूर्वसिँचाइमन्त्री दीपक गिरीलाई पराजित गरे।
केसीले ४० हजार २८७ मत पाए भने गिरीले ३३ हजार ७३० मत पाए। गिरी २०६४ सालको संविधानसभा निर्वाचनमा पराजीत भएका थियो भने २०७० सालको निर्वाचनमा भारी मतले विजय भएका थिए। दाङ क्षेत्र नं १ मा प्रदेशसभातर्फ पनि वाम गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भए।
क्षेत्र नं १ ‘क’मा पूर्वसभासद एवम् माओवादी केन्द्रका उम्मेदवार इन्द्रजित चौधरी विजयी भए । उनले नेकाका प्रदीप थापालाई पाँच हजार ८९३ मतान्तरले हराए । इन्द्रजितले १७ हजार २८५ र प्रदीप थापाले ११ हजार ३९२ मत पाए । इन्द्रजितले पहिलो संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नं १ मा काँग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्कालाई पराजित गरेका थिए ।
क्षेत्र नं १ ‘ख’मा पनि वाम गठबन्धनबाट (एमाले)का रेवतीरमण शर्मा निर्वाचित भए । संविधानसभाका दुवै निर्वाचनमा हार व्यहोरेका शर्माले तेस्रो लडाइँ जिते र प्रदेशसभा सदस्य बने । उनले काँग्रेसका जानकीलाल बस्नेतलाई ६ हजार ६०१ मतअन्तरले हराए । शर्माले १९ हजार ३५४ र बस्नेतले १२ हजार ७५३ मत प्राप्त गरे। प्रदेशसभातर्फ क्षेत्र नं २ एमाले नेता शंकर पोखरेल विजयी भए। उनले काँग्रेसका कमलकिशोर घिमिरेलाई नौ हजार ५५१ मतान्तरले पराजित गरे। पोखरेल २० हजार ७२३ मत पाएर निर्वाचित हुँदा घिमिरे ११ हजार १७२ मत पाए ।
पोखरेललाई दोस्रो संविधानसभा निर्वाचनमा काँग्रेस उम्मेदवार बुद्धिराम भण्डारीसँग पराजित भएका थिए । प्रदेशसभा तर्फकै क्षेत्र नं २ ‘ख’मा एमालेका अमरबहादुर डाँगी विजयी भए । डाँगी २१ हजार ४५० मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् भने निकटतम प्रतिस्पर्धी नेकाका भरतबहादुर न्यौपानेले १३ हजार १९० मत पाएका थिए ।
प्रदेशसभातर्फ क्षेत्र नं ३ ‘क’मा काँग्रेसका डिल्लीबहादुर चौधरीले पार्टीको साख जोगाउन सफल भएका छन् । दाङमा काँग्रेसको गड भएको बेला दाङमा वाम गठबन्धनले वर्चस्व जमाइरहेका बेला चौधरीले माओवादी उम्मेदवार जगप्रसाद शर्मा ‘अपार’लाई दुई हजार ३३६ मतअन्तरले हराउन सफल भएका छन्। श्रम तथा रोजगार राज्यमन्त्रीसमेत रहनुभएका चौधरी १७ हजार ३६ मतसहित निर्वाचित भए। शमाले १४ हजार ७०० प्राप्त गरे ।
प्रदेशसभातर्फ क्षेत्र नं ३ ‘ख’मा भने वाम गठबन्धनबाट एमाले उम्मेदवार उत्तरकुमार ओली निर्वाचित भए । ओलीले काँग्रेसका पूर्वसांसद बुद्धिराम भण्डारीलाई ६ हजार ४३५ मतान्तरले हराए । ओलीको पक्षमा २३ हजार ९७० मत परेको छ भने भण्डारीले १७ हजार ५३५ मत पाए। दोस्रो संविधानसभा निर्वाचनमा भण्डारीले एमाले नेता शंकर पोखरेललाई हराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।