काठमाडौं– सलमान खानका कुरासँग असहमति राखेको विषयमा बलिउड गायिका सोना महापात्राले ज्यान मार्ने धम्की खेपेकी छन्।
प्रियंका चोपडाका विषयमा सलमानले राखेको विचारमा उनले ट्विटर मार्फत् असहमति जनाएकी थिइन्। सोही विषयलाई लिएर सलमानका एक फ्यानले मार्ने धम्की दिएको उनले ट्वीटर मार्फत् सार्वजनिक गरेकी हुन्।
यसअघि सलमानका फ्यानले उनीमाथि ट्रोल बनाइरहेका थिए। फिल्म 'भारत' छाडेका विषयमा सलमानले प्रियंका चोपडा विरुद्ध अभिव्यक्ति दिएका थिए।
प्रियंकाले अन्तिम अवस्थामा फिल्म 'भारत'मा अभिनय गर्न अस्वीकार गरेकी थिइन्।
सलमानले यही विषयमा भनेका थिए, 'उनलाई फिल्मको स्क्रिप्ट मन परेको थियो। काम गर्न तयार भएकी थिइन्। तर उनले विवाहलाई पहिले चुनिन्। जब प्रियंकालाई करियरकै राम्रो फिल्म प्राप्त भएको थियो, त्यही समय विवाह गरिदिइन्। सामान्यतया यस्तो फिल्म पाउँदा मान्छेहरू विवाह गर्ने होइन, भएको श्रीमान् समेत छाड्छन्।'
सोनाले सलमानको यही कुरामा कमेन्ट गरेकी थिइन्। उनले आफ्नो ट्वीटरमा प्रियंकालाई समर्थन गर्दै लेखेकी थिइन्, 'किनकि, प्रियंकालाई जीवनमा राम्रो काम गर्नु थियो। असल पतिका साथ जीवन बिताउनु थियो र आफ्नो यात्राबाट केटीहरूलाई प्रभावित गर्नु थियो।'
यही विषयलाई लिएर सलमानका फ्यानले धम्की दिएका हुन्। उनले सोनालाई धम्काउँदै लेखेका छन्, 'फेरि एकपल्ट सलमानका विषयमा तिमीले केही नराम्रो भन्यौ भने तिम्रो घरमै आएर मारिदिन्छु। यो तिम्रा लागि अन्तिम चेतावनी हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।