एजेन्सी- चोरहरुले हातको सफाइ गर्न अनेक हथकण्डा अपनाउने रहेछन् । अस्ट्रेलियामा चोरहरुले नयाँ तरिका अपनाउँदै चोरी गर्न थालेका छन्।
चोरी गर्न जानुअघि चोरहरुले ड्रोन क्यामेराको प्रयोग गरी घरको अवस्था हेर्ने र खिचिएको भिडियो हेरेर चोरीको योजना बुन्ने गरेको कुरा खुलेको छ । अस्ट्रेलियाको सहर न्यू साउथ वेल्समा भएका चोरीका घटनामध्ये ७५ प्रतिशतमा ड्रोन प्रयोग गरिएको खुलासा भएको हो।
सो सहरमा अहिले चोरी तथा लुटपाटको घटना बढिरहेको छ। लुटपाट तथा चोरीका घटना बढ्नुमा ड्रोन मुख्य कारण रहेको पीडितहरुको भनाइ छ।
'दिउँसो २ बजेतिर मैले घरको आँगनमा ड्रोन देखेको थिएँ । मेरो घरवरपर ड्रोनले निगरानी गरिरहेको थियो भनेर मैले अनुमानसम्म गर्न सकिनँ । केहीबेरमा हामी बाहिर गयौं, फर्केर आउँदा घरमा चोरी भइसकेको थियो', एक महिलाले भनिन्।
चोरी भएको घरको छिमेकको महिला अहिले त्रस्त छिन् । उनको घर वरिपरि पनि ड्रोन घुमेको थियो। उनलाई कतिबेला घर चोरी हुने हो भन्ने चिन्ता छ।
'छिमेकी घर चोरी भएदेखि म चिन्तित छु । मेरो घरमा कतिबेला चोरी होला भनेर म डराएकी छु', उनले डेलीमेलसँग कुरा गर्दै भनेकी छन्।
गत साता मात्रै साउथ वेल्सको ६ वटा घरमा दिउँसै चोरी भएको थियो । ड्रोनले घरको निगरानी गरेको केही समयभित्रै चोरी हुन थालेपछि साउथ वेल्सका बासिन्दाले सुरक्षा व्यवस्था मिलाउन स्थानीय प्रशासनसँग माग गरेका छन्।
चोरहरुको निशानामा घरका साथै व्यापारिक भवन र स्कुल समेत पर्न थालेका छन्।
आपराधिक कार्य रोक्न प्रहरीले अभियान चलाए पनि त्यसले सफलता पाउन सकेको छैन । ड्रोनको प्रयोग मार्फत भइरहेको चोरी तथा लुटपाटमा संलग्नलाई पक्राउन गर्न प्रहरीले कडा निगरानी गर्न थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।