माल्दिभ्स– बलिउडका महानायक अमिताभ बच्चनले भाइरल हेपाटाइटिस विरुद्ध जुट्न सबैलाई आह्वान गरेका छन्।
हेपाटाइटिस विरुद्ध सचेतना जगाउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रका सद्भावना दूतसमेत रहेका अमिताभले यसको रोकथामका लागि जनचेतना बढाउन जरुरी रहेको बताएका छन्।
‘हेपाटाइटिसबाट प्रभावितहरुले निकै विभेदको सामना गर्नुपर्छ । त्यसैले यसबारे बढीभन्दा सचेतना बढाउन जरुरी छ’, सेप्टेम्बर ६ देखि १० सम्म माल्दिभ्समा जारी दक्षिण–पूर्वी एसिया क्षेत्रका स्वास्थ्य मन्त्रीस्तरीय बैठकलाई लाइभ भिडियोमार्फत सम्बोधन गर्दै उनले आग्रह गरे।
‘सबै एकजुट भएर लाग्यौं भने प्रभावितको उपचारका लागि हामी धेरै काम गर्न सक्छौं’, बलिउडका बिग बीले भने । उनले दक्षिण-पूर्वी एसियामा यसको ठूलो समस्या रहेको समेत बताए।
उनले यसलाई मनोवैज्ञानिक र सामाजिक विषय बताए । ‘सबैभन्दा पहिला त हेपाटाइटिस ‘बी’ भएकामाथि हुने अन्तरदेशीय विभेद हटाउन जरुरी छ,’ उनले भने, ‘कति देशले त बिरामीलाई भीसा नै नदिने गरेका छन्।’
बच्चन पनि हेपाटाइटिसबाट प्रभावित भइसकेका व्यक्ति हुन् । उनलाई १९८२ मा रगतको माध्यमबाट भाइरल हेपाटाइटिस सरेको थियो । सन् १९८२ ताका फिल्म ‘कुली’ को सुटिङमा उनी घाइते भएका थिए। उनको उपचारका लागि झन्डै दुई सय फ्यानले रक्तदान गरेका थिए । तीमध्ये एकबाट भाइरल हेपाटाइटिस उनलाई सरेको थियो।
त्यो समय सम्झिँदै बच्चनले भने, ‘डाक्टरले मेरो एक चौथाइ कलेजो मात्रै सद्दे छ भनेका थिए ।’ उनले समयमै उपचार पाएर मृत्युको मुखबाट आफू फिर्ता आएको बताए।
बच्चनले धेरै देशमा अझै पनि हेपाटाइटिस पत्ता लगाउनै समस्या रहेको औंल्याए।
दक्षिण-पूर्वी एसियामा मात्र हेपाटाइटिस ‘बी’ बाट प्रतिवर्ष १० लाख प्रभावित हुने गरेको डब्लुएचओको तथ्यांक छ । यसकै कारण वार्षिक ४ लाख १० हजार मानिसको मृत्यु हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।