नयाँदिल्ली– यस पटकको लोकसभा चुनावमा भारतका धेरै कलाकार विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका थिए। तीमध्ये कतिपय कलाकारले आफूलाई अब्बल राजनीतिज्ञ सावित गर्दै चुनाव जितेका छन् भने कतिपयले हार बेहोरेका छन्।
उत्तर प्रदेशको मथुराबाट भारतीय जनता पार्टीको उम्मेदवार बनेकी अभिनेत्री हेमा मालिनीले लोकसभा चुनावमा जित हासिल गरेकी छिन्। उनी अघिल्लो निर्वाचनमा पनि विजयी भएकी थिइन्।
चुनावको केही समयअघि भाजपामा प्रवेश गरेका भोजपुरी अभिनेता रवि किशन पनि गोरखपुर क्षेत्रबाट निर्वाचित भएका छन्। उनले समावजादी पार्टीका रामभुआल निषाद र कांग्रेसका मधुसुदन त्रिपाठीलाई हराएका हुन्।
आजमगढबाट उम्मेदवार बनेका भोजपुरी फिल्म स्टार दिनेशलाल यादव (निरहुवा) समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसँग पराजित भएका छन्। निरहुवा भाजपाबाट उम्मेदवार बनेका थिए।
भाजपाका उम्मेदवार अभिनेता सनी देवल पन्जावको गुरुदासपुर क्षेत्रबाट निर्वाचित भएका छन्। यसअघिका चुनावमा अभिनेता विनोद खन्नालाई भाजपाले यो क्षेत्रबाट उम्मेदवार बनाउँथ्यो।
गायक हंसराज हंसले पनि भाजपाको तर्फबाट दिल्लीको उत्तर पश्चमी क्षेत्रबाट चुनाव जितेका छन्। यसअघि सो क्षेत्रबाट उदित राज भाजपाका सांसद थिए। उदित राज यसपटक भाजपाबाट टिकट नपाएपछि कांग्रेसमा प्रवेश गरेका थिए।
भोजपुरी अभिनेता मनोज तिवारीले पनि भाजपाबाट चुनाव जितेका छन्। उनी उत्तरपूर्वी दिल्ली क्षेत्रबाट चुनाव लडेका थिए। तिवारीले कांग्रेस नेतृ दिल्लीकी पूर्वमुख्यमन्त्री शिला दीक्षितलाई हराएका छन्।
अभिनेत्री जया प्रदा भने यस पटकको लोकसभा चुनावमा पराजित भएकी छिन्। समाजवादी पार्टीबाट भाजपा प्रवेश गरेकी जया समाजवादी पार्टीका आजम खानसँग पराजित भएकी हुन्।
गायक तथा अभिनेता बाबुल सुप्रियो पश्चिम बंगालको आसनसोल क्षेत्रबाट निर्वाचित भएका छन्। भाजपाबाट चुनाव लडेका बाबुलले टिएमसीकी मुनमुन सेनलाई हराएका हुन्।
चुनावको केही समयअघि कांग्रेले अभिनेत्री उर्मिला मातोंडकरलाई उम्मेदवार बनाएको थियो। चुनाव प्रचारका क्रममा दिएको अभिव्यक्तिका कारण विवादमा आएकी उर्मिला मुम्बई चुनाव क्षेत्रबाट पराजित भएकी हुन्।
भाजपाबाट टिकट नपाएपछि कांग्रेसमा प्रवेश गरेका अभिनेता सत्रुघन सिन्हा पटना साबिह क्षेत्रबाट पराजित भएका छन्। उनी भाजपाका रविशंकर प्रसादसँग पराजित भएका हुन्। उनी अघिल्लो लोकसभा चुनावमा भाजपाबाट विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।