काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई इतिहास पढ्न आग्रह गरेका छन्।
मन्त्री बाँस्कोटाले जय नेपालको अर्थलाई गलत रुपमा बुझेको भन्दै सचेतक खाँडले भने, 'सहिद शुक्रराजलाई फाँसी दिनुपूर्व सोधिएको अन्तिम इच्छा र बोल्नु भएको अन्तिम शब्द जय नेपाललाई आज गोकुल बाँस्कोटाले बुझेका छैनन्। एक पटक इतिहास अध्ययन गर्न म उहाँलाई आग्रह गर्द्छु।'
हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाली कांग्रेस, क्षेत्रीय कार्य समिति काठमाडौं क्षेत्र नं ९ मा आयोजित कार्यक्रममा बोल्दै सचेतक खाँडले पार्टीभित्रैको कमजोरीका कारण नेपाली कांग्रेस पछाडि परेको समेत उल्लेख गरे।
कांग्रेसले कांग्रेसकै सात्तो नखाएको भए आज यस्तो दिन व्यहोर्नु नपर्ने उनको तर्क थियो।
उनले आपसमा आत्मीयता हुनुपर्ने भन्दै नेता तथा कार्यकर्ताले एकले अर्कालाई गाली नगर्न आग्रह गरे।
कम्युनिष्टसँगको प्रतिष्पर्धाका कारण कांग्रेस इतिहासकै कठिन अवस्थामा रहेको बताउँदै उनले भने, ' नेपाली कांग्रेस इतिहासकै कठिन अवस्थामा छ। कम्युनिष्टसँग प्रतिस्पर्धा गर्नुपरेको छ। विश्वमा कुनै ठाउँ छैन, जहाँ लोकतान्त्रिक शक्ति बामपन्थीसँग प्रतिस्पर्धा गर्दछ। ज्यादै गम्भीर र चिन्तित अवस्था छ।'
जनताको मौलिक हक, मानव अधिकार, प्रेस स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता, लोकतान्त्रिक व्यवस्थाको विरुद्धमा वर्तमान सरकार लागेको उनको आरोप छ।
'वर्तमान सरकारले हेक्का गर्नुपर्छ। हिजो राणा, राजा, पञ्चायत यही कारणले समाप्त भयो। अब नेकपाको पनि सकिने दिन आउँदैछ,' सचेतक खाँडले भने, 'यो प्रतिकूल अवस्थामा नेपाली कांग्रेसले पाएको मतको संरक्षण गर्नुपर्छ र मतदातालाई संरक्षण गर्नुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।