काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनावी जितका लागि बधाई दिएका छन्।
१७औं लोकसभा निर्वाचनको प्रारम्भिक मत गणनामा मोदीको दल भारतीय जनता पार्टी निकै अघि देखिएको छ र मोदी दोस्रो पटक प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ।
‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी लोकसभा निर्वाचन-२०१९ मा भारी मतका साथ विजयी भएकोमा बधाई तथा शुभकामना,’ ट्वीट गर्दै प्रचण्डले भनेका छन्।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मोदीलाई बधाई दिएका थिए।
बधाई सन्देशमा ओलीले मोदीसँग नजिकै रहेर काम गर्न इच्छुक रहेको उल्लेख गरेका छन्। ‘आगामी दिनमा तपाईंसँग निकै नजिकमा रहेर काम गर्नेछुु,’ सन्देशमा भनिएको छ।
विश्वकै सबैभन्दा ठूलो मानिने भारतीय लोकसभा निर्वाचन कूल ७ चरणमा गरिएको थियो। ५ सय ४२ सिटका लागि भएको चुनावको मतगणना बिहीबार बिहान ८ बजेबाट सुरु भएको हो।
सन् २०१४ मा भाजपाले २ सय ८२ सिट जितेको थियो। सो समयमा भारतीय कांग्रेस केवल ४४ सिटमा खुम्चिएको थियो। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।