काठमाडौं- ७ चरणमा सम्पन्न भएको १७औं भारतीय लोकसभा चुनावको प्रारम्भिक मतगणनाले वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पक्षमा चुनावी लहर देखाएको छ।
प्रारम्भिक मत गणनामा मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) ले सन् २०१४ को चुनावमा भन्दा पनि ठूलो सफलता हासिल गर्ने देखिएको छ। मतगणनाको प्रारम्भिक चरणमा भाजपा एक्लैले २९८ चुनावी क्षेत्रमा अग्रता लिएको छ। भाजपासहितको नेसनल डेमोक्रेटिक अलायन्स (एनडिए) ले करिब ३४४ क्षेत्रमा अग्रता लिएको छ।
उता मुख्य विपक्षी भारतीय राष्ट्रिय कांग्रेस भने भाजपा भन्दा निकैपछाडि देखिएको छ। भारतीय निर्वाचन आयोगका अनुसार कांग्रेसले जम्मा ५२ क्षेत्रमा मात्रै अग्रता लिएको छ। कांग्रेस नेतृत्वको युनाइटेड प्रोगेसिभ अलाएन्स (युपिए) ले भने जम्मा ८५ क्षेत्रमा अग्रता लिइरहेको छ। ११३ क्षेत्रमा अन्य दलले अग्रता लिइरहेका छन्।
भाजपाले हिन्दी भाषी बाहुल्य क्षेत्र, पहिलेको आफ्नो पकड क्षेत्र तथा पूर्व-पश्चिम सबैका राज्यमा राम्रो प्रदर्शन गरेको प्रारम्भिक मत गणनाले देखाएको छ। भाजपा र उसका अध्यक्ष अमित शाहले निकै जोड दिएका दुई राज्य पश्चिम बंगाल र ओडिसामा पनि राम्रो प्रदर्शन गरेको छ।
राहुल गान्धी नेतृत्वको कांग्रेसले भने निराशाजनक प्रदर्शन गरेको छ। कांग्रेस आफैले चार महिनाअघि विधानसभा चुनाव जितेका दुई राज्य राजस्थान र मध्य प्रदेशमा समेत कमजोर प्रदर्शन गरेको छ। पन्जाव र केरलामा भने कांग्रेसले अग्रता लिएको छ।
एसपी—बिएसी र आरएलडी लगायतको महा गठबन्धन बनेको उत्तर प्रदेश राज्यमा समेत भाजपाले अग्रता धेरै छ। उत्तर प्रदेशमा जसले जित्छ उसले केन्द्रमा सरकार बनाउँछ भन्ने धारणा भारतमा पाइन्छ।
भाजपाले गुजरात, राजस्थान, मध्ये प्रदेश, दिल्ली, हरियाना, कर्नाटक, झारखण्ड, महाराष्ट्र लगायतका राज्यमा राम्रो प्रदर्शन गरेको देखिएको छ।
अघिल्लो चुनावका तुलनामा भाजपाअघि क्षेत्रीय दलहरु समेत निकै कमजोर देखिएका छन्।
भाजपाले चुनावमा मोदीलाई बिलियो र राष्ट्रिय सुरक्षाका मुद्धामा निर्णायक नेताका पमा प्रस्तुत गरेको थियो।
धेरै राज्यमा भाजपाको चुनावी प्रचार अभियानले साम्प्रदायिक रुपमा लिएको थियो। उसले हिन्दु राष्ट्रवादको चर्को वकालत गर्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।