काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान र कानुनको मर्मविपरीत नियमावली र निर्देशिका जारी नगर्न सरकारलाई सचेत गराएका छन्।
अध्यक्ष तिमिल्सिनाले संविधानको मर्मविपरीत सरकारले नियमावली र निर्देशिका जारी गरे/नगरेको कडा निगरानी गर्न पनि राष्ट्रियसभा अन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिलाई निर्देशन दिए। बिहीबार काठमाडौंमा आयोजित प्रत्यायोजित विधायनसम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले संविधानको स्पिरिट अनुसार कानुन र कानुनको परिधिभित्र रहेर नियमावली तथा निर्देशिका जारी गर्न पनि संघीय संसद र सरकार दुवैको गम्भीर ध्यानाकर्षण गराए।
अध्यक्ष तिमिल्सिनाले संविधानको मर्म अनुसार कानुन बनाउने कुरामै जटिलता आउन थालेको उल्लेख गर्दै सम्बन्धित पक्षलाई सावधानीपूर्वक कानुन निर्माण गर्न सतर्क पनि गराए।
कार्यक्रममा बोल्दै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले जथाभावी सरकारले नियमावली र निर्देशिका जारी गर्न थालेपछि त्यसलाई रोक्ने ठोस रणनीति तय गर्न समितिले विज्ञहरुसहितको अन्तरक्रिया कार्यक्रम आयोजना गर्नुपरेको स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।