सोलुखुम्बु- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट सोलुखुम्बुमा खटिएका प्राविधिकले नियमविपरीत असुलेको १ लाख ८० हजार रुपैयाँ फिर्ता गर्ने भएका छन्।
घर निर्माणका लागि अन्तिम किस्ता लिने समयमा फोटो धुलाउन भन्दै नेचा-सल्यान गाउँपालिकामा खटिएका प्राविधिकले प्रतिपरिवार ६ सय रुपैयाँ फिर्ता गर्न थालेका हुन्। पीडित परिवारबाट ८ सयका दरले असुलेको तर २ सय रुपैयाँ भने फोटो धुलाइका लागि खर्च भएकाले ६ सय मात्र फिर्ता गर्ने उनीहरुले बताएका हुन्।
६ सयका दरले सम्बन्धित भूकम्प पीडितलाई फिर्ता गर्न थालिएको प्राविधिक धन कुमार ढुंगेलले जानकारी दिए। नागरिकस्तरबाट रकम असुलीबारे दबाब सृजना गरी गाउँपालिकामा खटिएका प्राविधिहरुले कमजोरी स्वीकार गरी रकम फिर्ता थालेका हुन्।
नेचा-सल्यान गाउँपालिकाकी उपाध्यक्ष कुमारी देवी शर्मा र वडा-३ का वडाअध्यक्ष धर्मध्वज खत्रीको रोहबरमा प्राविधिकले क्रमशः बढी रकम फिर्ता गर्ने कागज गरेका हुन्। सोमबारदेखि रकम फिर्ता सुरु गरिएको हो।
गाउँपालिकाबाट करिब ३ सय भूकम्प पिडितबाट ८ सयका दर फोटो धुलाईका रकम संकलन गरिएको थियो। प्राधिकरणका ईन्जिनियर आशुतोष जोशीले भूकम्प पीडितकै आग्रहमा आफूले फोटो धुलाईको लागि रकम लिएको बताए। पिडितकै सहजताका लागि रकम लिएकाले व्यक्तिगत लाभका लागि काम नगरेको ईन्जिनियर जोशीको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।