विराटनगर– मोरङका सबै ६ वटा निर्वाचन क्षेत्रमा वाम गठबन्धनले अग्रताको दूरी बढाउँदै लगिरहेको छ।
बेलुका साढे ७ बजेको मत परिणाम अनुसार मोरङ क्षेत्र नम्बर १ मा संयुक्त वाम गठबन्धनका एमाले उम्मेदवार घनश्याम खतिवडाले ९७६८ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार डिकबहादुर लिम्बुको ८७८४ मत छ।
यस्तै, मोरङ क्षेत्र नम्बर २ मा संयुक्त वाम गठबन्धनका एमाले उम्मेदवार ऋषिकेश पोखरेलले ७१४६ मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवार डा. मिनेन्द्र रिजालको ६७०७ मत छ। मोरङ २ मा १५ हजार ४ सय १४ मत गणना भइसकेको छ।
मोरङ क्षेत्र नम्बर ३ मा संयुक्त वाम गठबन्धनका एमाले उम्मेदवार भानुभक्त ढकालले १३ हजार ३ सय ४१ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका कांग्रेस उम्मेदवार डा सुनीलकुमार शर्माले १२ हजार ५ सय ७८ मत ल्याएका छन्। मोरङ ३ मा २८ हजार ६सय ७३ मत गणना भइसकेको छ।
यसैगरी, मोरङ क्षेत्र नम्बर ४ मा संयुक्त वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले ७०८४ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेका कांग्रेस उम्मेदवार महेश आचार्यले ५०४२ मत प्राप्त गरेका छन्। मोरङ ४ मा १४ हजार १ सय १३ मत गणना भइसकेको छ।
मोरङ क्षेत्र नम्बर ५ मा संयुक्त वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले ३४८९ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेका कांग्रेसका उम्मेदवार अमृत अर्यालले ३३१८ मत प्राप्त गरेका छन्। संघीय समाजवादीका राजकुमार यादवले २९१७ मत ल्याएका छन्।
यस्तै, मोरङ क्षेत्र नम्बर ६ मा संयुक्त वाम गठबन्धनका एमाले उम्मेदवार लालबाबु पण्डितले २०६३ मतको अग्रता लिएका छन्। एमालेका पण्डितले १३ हजार ७९ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार डा शेखर कोइरालाले ११ हजार १६ मत प्राप्त गरेका छन्। मोरङ ६ मा २२ हजार ६ सय १३ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।