काठमाडौं- स्पेनिस ला लिगाको अन्तिम खेलमा च्याम्पियन बार्सिलोना बराबरीमा रोकिएको छ। बार्सिलोनालाई आइतबार सकिएको खेलमा बार्सिलोनालाई एइबारले २-२ गोलको बराबरीमा रोकेको हो।
खेलमा चारै गोल पहिलो हाफमा भएका थिए। खेलको २० मिनेटमा कुकुरेलाले गोल गरेर बार्सिलोनालाई अग्रता दिलाए। खेलको ३१ मिनेटमा बार्सिलोनाका लागि कप्तान लिओनल मेसीले बराबरी गोल फर्काउन सफल भए। लगत्तै अर्को मिनेटमा मेसीले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरेर बार्सिलोनालाई अग्रता दिलाए। पहिलो हाफको अन्तिम मिनेटमा एइबारका डे ब्लासिसले गोल गरेपछि खेल दोस्रो पटक बराबरीमा आयो।
योसँगै ला लिगाको सबै खेल सकिएका छन्। लिगको उपाधि जितेको बार्सिलोनाले ३८ खेलबाट ८७ अंक जोड्यो। दोस्रो भएको एट्लेटिको म्याड्रिडले ७६ अंक र तेस्रो स्थानमा सीमित रियल म्याड्रिडले ६८ अंक बटुल्यो। भ्यालेन्सिया ६१ अंक जोडेर चौथो हुँदा पाँचौ भएको गेटाफेले ५९ अंक जोड्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।