काठमाडौं- एकदिवसीय विश्वकपअघि इंग्लिस क्रिकेट टिम उत्कृष्ट लयमा देखिएको छ। पाकिस्तानविरुद्धको पाँच खेलको एकदिवसीय सिरिज इंग्ल्यान्डले ४-० ले जित्दै विश्वकपअघि आफू बलियो टिम भएको आधार प्रस्तुत गरेको छ। पहिलो खेल वर्षाले प्रभावित हुँदा इंग्ल्यान्डले पछिल्ला ४ खेलमा पाकिस्तानलाई हरायो। चारै खेलमा इंग्ल्यान्डको ब्याटिङ राम्रो देखिदा ३ सय रन कटेको थियो।
आइतबार भएको पाँचौ तथा अन्तिम खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५४ रनले हरायो। पहिले ब्याटिङ गरेको इंल्यान्डले ९ विकेटको क्षतिमा ३ सय ५१ रन जोडेको थियो। इंग्ल्यान्डका लागि जोए रुटले ८४ रन जोडे। उनले ७३ बलमा ९ चौका हिर्काएका थिए। इयान मोर्गानले ७६ रनको योगदान दिदा टसम कुरानले नटआउट २९ रन बटुले। बलिङमा पाकिस्तानका सहीन साह अफ्रिदीले ४ विकेट लिए भने इमान वासिमले ३ विकेट हात पारे।
३ सय ५२ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४६.५ ओभरमा २ सय ९७ रनमा अलआउट भयो। पाकिस्तानका लागि बाबर अजामले ८० रनको योगदान दिए। उनले ८३ बलमा ९ चौका र १ छक्का हिर्काए। त्यसअघि ओपनरद्वय फकर जामान ० र अदिब अली ५ रनमा आउट भएका थिए।
कप्तान सर्फराज अहमेदले ९७ रन जोडे। तर उनी रनआउट भएपछि पाकिस्तानको इनिङ संकटमा परेको थियो। बलिङमा इंग्ल्यान्डका क्रिस्ट ओएक्सले ५ विकेट लिए। उनी खेलको म्यान अफ दि म्याच हुँदा जासन रोए म्यान अफ दि सिरिज भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।