एजेन्सी : चीनको जनमुक्ति सेना पिएलओको नेतृत्वमा ठूलो फेरबदल हुन लागेको छ । सेनाको नेतृत्वमा रहेका जर्नेलहरूलाई हटाइने भएको छ, तीमध्ये २ जनामाथि अहिले भ्रष्टाचार आरोपमा छानबिन भइरहेको छ।
जर्नेलहरूलाई हटाएपछि राष्ट्रपति सि जिनपिङले आफ्ना विश्वासपात्र जर्नेलहरूलाई सेनाका माथिल्ला पदसँगै पार्टीको प्रमुख पदमा समेत नियुक्त गर्न सहज हुने अनुमान गरिएको छ । सेनामा हुने फेरबदलपछि राष्ट्रपति सि अझ शक्तिशाली हुने छन् ।
अहिलेसम्म उत्तराधिकारी अघि नबढाएका राष्ट्रपति सि अझै सत्तामा बस्न इच्छुक रहेको अनुमान विश्लेषकले लगाइरहँदा सेनाको नेतृत्व फेरबदल हुने समाचार सार्वजनिक भएको हो । यही अक्टोबर १८ मा चिनियाँ कम्युनिस्ट पार्टीको कंग्रेस सुरु हुँदैछ ।
दुई दिनअघि सेनाको आधिकारिक अखबार जनमुक्ति सेना दैनिकले पार्टी कंग्रेसमा सहभागी हुने सैन्य अधिकारीको सूची छापेको थियो । ३ सय ३ जनाको सूचीमा केन्द्रीय सैन्य परिषद्का सदस्य दुई जर्नेल फ्याङ फेङहुई र झाङ याङ समावेश छैनन् । परिषद् चिनियाँ सेनाको सर्वोच्च निकाय हो । दुवै जर्नेलविरुद्ध भ्रष्टाचारको आरोपमा छानबिन भइरहेको छ ।
सेनाको सर्वोच्च निकाय केन्द्रीय सैन्य परिषद्का ११ जनामध्ये भ्रष्टाचारमा परेका र अवकाश पाउनेसहित गरी ७ सदस्यको पद रिक्त हुने देखिएको छ ।
परिषद्को अध्यक्ष चिनियाँ सेनाका प्रधान सेनापति समेत रहेका राष्ट्रपति सि छन् । परिषद्मा दुई उपाध्यक्षसहित ८ जना सदस्य रहन्छन् ।
सेनामा अब हुने फेरबदलबाट लि झुओचेङ, मियाओ र स्थल सेनाका कमान्डर हान वेइगुओ, वायुसेनाका कमान्डर डिङ लाइहाङ र जलसेनाका सेन जिन्लोङ नेतृत्वमा उक्लने अनुमान गरिएको छ । लिले गत महिना मात्र फ्याङको ठाउँमा ज्वाइन्ट स्टाफ डिपार्टमेन्ट सम्हालेका थिए ।
अब नेतृत्वमा पुग्ने पाँचै जना सैन्य अधिकारी यसै वर्ष मात्र बढुवा भएका हुन् भने उनीहरू कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटिका सदस्य समेत थिएनन् ।
५५ बर्से फ्याङ राष्ट्रपति सिको गत अप्रिलमा भउको अमेरिका भ्रमणमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटवार्तामा सँगै थिए ।
सेनाको राजनीतिक कार्य विभागका निर्देशक जर्नेल झाङविरुद्ध पनि भ्रष्टाचार आरोपमा छानबिन भइरहेको छ ।
पार्टी कंग्रेसमा सहभागी हुनेको सूचीमा झाङभन्दा तलका जर्नेल जिया तिंगान, दु हेङयान र वु चाङदे पनि परेका छैनन् ।
पार्टी कंग्रेसमा सहभागीको सूचीमा नपर्नुको तात्पर्य उनीहरूको राजनीतिक जीवनको अन्त्य भएको प्रष्ट संकेत हो ।
शुक्रबार जनमुक्ति सेना दैनिक र सरकारी समाचार एजेन्सी सिन्ह्वाले एक्कासी जलसेनाका राजनीतिक कमिसार मियाओ हुवालाई सेनाको राजनीतिक कार्य विभागको निर्देशकका रुपमा उल्लेख गरेको छ । तर जर्नेल झाङले भने आफ्नो ठाउँ मियाओ नियुक्त भएको कुनै आधिकारिक घोषणा गरेका थिएनन् ।
झाङअघि सेनाको राजनीतिक कार्य विभागको नेतृत्व गरेका सु काइहु र सैन्य कमिसनका उपाध्यक्ष गुओ बोसिओङमाथि सैन्य बढुवामा घुस लिएको आरोप लागेको थियो । गत वर्ष गुओलाई जन्मकैदको सजाय दिइयो । मुद्दा चलाउनुअघि नै सन् २०१५ मा सुको मृत्यु भयो ।
यसैगरी सेनाबाट पार्टी कंग्रेसमा सहभागीको सूचीमा सेनाका वरिष्ठ अधिकारीहरू दु जिनकाई, काई यिनतिङ पनि परेका छैनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।